अमेरिकामा न्यून आय (लो इनकम) मा काम गर्ने नेपालीहरू कुलतमा फसेर क्रमशः घरको न घाटको हुँदै छन् । यो मेरो होइन अमेरिकी सरकारको दृष्टिकोण हो ।
आफूले आर्जन गरेको कमाइले जीवन निर्वाह गर्ने भन्दा पनि तास, लटरी र चिट्ठा खेल्ने जस्ता कुलतमा फस्नाले आफूसँग भएको रकम समाप्त हुने त छदै छ घर परिवारमा पनि झै झगडा को स्थिति आएको छ । यसको फलस्वरूप परिवार नै ध्वस्त हुने स्थिति पनि आउन सक्छ । यो मैले देखेको, भोगेको अमेरिका हो ।
अमेरिकी विश्व विद्यालयमा अध्ययन गरेर पढाइ अनुसारको कर्ममा लागेका सानो समूहलाई अपवाद मान्ने हो भने यहाँ रहेका अधिकांश नेपाली अमेरिकी सरकारले तोकेको न्यूनतम ज्याला दरमा काम गरिरहेका छन् । यी ज्याला दर राज्य हेरेर प्रतिघण्टा ७ देखि १३ डलरसम्म छ ।
जुन राज्यमा जति ज्याला दर तोकिए पनि आम्दानी अनुसार बजार भाउ र खर्च हुने कारणले महँगो र सस्तो भन्नुको कुनै खास अर्थ रहँदैन ।
नर्थ क्यारोलिना र भर्जिनिया राज्यमा ७ डलर प्रति घण्टा छ भने क्यालिफोर्निया राज्यमा १३ डलर प्रति घण्टा छ । त्यसमा पनि अमेरिकामा बसोबास गर्ने कानुनी हैसियत नभएका अर्थात् अन डकुमेन्टहरूले यो भन्दा कम दरमा काम गर्नु पर्छ ।
जुन राज्यमा जति ज्याला दर तोकिए पनि आम्दानी अनुसार बजार भाउ र खर्च हुने कारणले महँगो र सस्तो भन्नुको कुनै खास अर्थ रहँदैन । जस्तै क्यालिफोर्नियामा एउटा सामान्य २ कोठे अपार्टमेन्टको भाडा प्रति महिना २ हजार ५ सय पर्छ भने त्यस्तै प्रकारको अपार्टमेन्टको भाडा नर्थ क्यारोलिनामा एक हजार सम्ममा आउँछ । यी भाडा दर यहाँ न्यून मध्यम वर्गका बस्ने क्षेत्रको हो । अधिकांश नेपालीहरू पनि यस्तै ठाउँमा बसोबास गर्छन् । ती भन्दा माथिल्ला वर्ग बसोबास गर्ने इलाकामा लो इनकम भएकाहरूले घरजम गर्ने सपना देख्नु नै गलत हुन्छ । भलै उसले नेपालमा जे जस्तो गफ लगाएको होस्, उसको बसाइ लो इनकमका बस्नेहरु कै इलाका मै हुन्छ ।
यस्तै परिवारका सदस्यहरू मध्ये कम उमेरका अर्थात् १८ वर्ष भन्दा मुनिका बाहेक सबै सदस्यले काम नगर्ने हो भने खान लगाउन नो धौ धौ पर्छ । त्यो पनि सबै भन्दा सस्तो जीवनस्तर स्विकारेर ।
सबै वर्गका मानिसले आफ्नो आय अनुसार एकै प्रकारका सामानको उपभोग गर्न पाएका छन् । यो अमेरिकाको अर्थ व्यवस्थाको सुन्दर पक्ष हो ।
यहाँ अमेरिकामा एउटा रमाइलो पक्ष के छ भने उस्तै वस्तु धनीले १० डलरमा किनेको छ भने गरिबले १ डलरमा किन्ने पसल पनि छ । जस्तो हेरिस ट्याटर, जे सी पेन्नी र मेसिज महँगो सामान पाइने पसलहरू हुन् भने वालमार्ट, डलर जनरल, फेमेली डलर र डलर ट्री न्यून आय भएका अमेरिकी र यहाँ बसोबास गर्ने विदेशीका लागि हो । अझै डलर ट्रीमा त हरेक सामानको केवल एक डलर (कर सहित एक डलर सात सेन्ट) मात्र पर्छ ।
यसरी सबै वर्गका मानिसले आफ्नो आय अनुसार एकै प्रकारका सामानको उपभोग गर्न पाएका छन् । यो अमेरिकाको अर्थ व्यवस्थाको सुन्दर पक्ष हो ।
सामान्यतया यस्तो आर्थिक स्थिति हुँदा हुँदै पनि छिटो धनी हुने आशामा लटरी र चिट्ठामा खर्च गर्दा आर्थिक असन्तुलन बढ्ने जोखिम अत्यधिक रहन्छ । सरकारीस्तरबाटै खोलिएका राष्ट्र स्तरीय मेगा मिलियन, पावर बल र हरेक राज्य अनुसारको लक्की फर लाइफ, क्यास फर लाइफ, किनो जस्ता फरक फरक लटरीहरुमा धेरै पैसा खर्च गर्नु मूर्खता मात्र हो । यद्यपि कहिले काहीँ चिट्ठा खरिद गरेर भाग्य जाँच्नु गलत भने होइन । यी लटरी धेरैलाई परेको पनि छ । मेरो परिचयमा रहेका दुई जना नेपालीलाई १०/१० लाख डलर परेको पनि जानकारी छ । कर कटाएर ६ लाख ५० हजार डलर हात पर्नु भनेको चानचुने कुरो होइन । त्यो पनि मात्र २ डलरको टिकट किन्दा ।
रमाइलोको लागि आर्थिक भार नपर्ने गरी लटरी किन्दा केही फरक नपर्ला तर, ऋण गरेर वा कमाइको ठुलो हिस्सा यसमै खर्च गर्दा त्यसले अमेरिकामा बसेर पुरा गर्न सकिने सामान्य सपनालाई पनि बिथोल्न सक्छ । अमेरिकीहरूको एउटा भनाइ छ, "यु नेभर नो" अर्थात् तिमीलाई केही थाहा छैन अर्थात् जे पनि हुन् सक्छ वा यो चिट्ठा तिमिलाई नै पर्न सक्छ । यसरी आफ्नो भाग्य परीक्षण गर्नु नराम्रो होइन तर छिटो धनी हुन्छु भनेर केवल चिट्ठा किन्नु मूर्खता मात्र हो ।