मंसिर ०७, २०८१, शुक्रबार
               

नायिकाको भेषमा प्रेत

चेतन पाण्डे
चैत ०४, २०७७

ADVERTISEMENT

खै के लेख्नु, के पोख्नु जस्तो हुन्छ हरेक लेखाइको सुरुवातमा । तर पनि, बिम्बको यो ५० औँ शृङ्खला बनेछ, नेपालफ्ल्यासमा । जति पोखे पनि कुराका भकारी रित्तिँदैन रहेछ ।

कति कुरा अझै पनि मनमा छन् । कतिसँग रिस अझै पनि मरेका छैनन् । तर, कसैको चित्त दुख्छ कि भनेर लेख्न सक्दिन । कति पीडा अझै पनि दबिएका छन् । बगाउन बाँकी आँसु पनि दबिएरै बसेका छन् । लेख्न मन लाग्दैन, आँसु देखाउने पुरुष लाछी हुन्छन् रे ! रुने अधिकार त महिलाको मात्र हो रे ! किन हो किन नचाहिँदो पुरुषत्वले मन मार्न बाध्य बनाउँछ । अझै पनि प्रेमका सागर मनका डिलमा छाल बनेर ठोकिन्छन् नै । पोख्न सक्दिन, डर लाग्छ । कतै मेरा कारण कसैको जीवनमा कालो बादल मडारिन्छ कि भनेर । एक पटक पत्नीलाई सोधेँ, तिम्रा र मेरा प्रेमका भाव अक्षरमा उनिदिऊँ त ? उसको ठाडो जवाफ थियो, नाइँ ! अनि मेरो प्रेमको अन्तिम अध्याय समेत कतै छचल्किन सकेको छैन । अक्षर बनेर कतै पोखिन सकेको छैन ।

बिम्बमा जे लेख्छु, त्यो नितान्त मेरो मनको भाव हो । मेरो अनुभव हो । मेरो धारणा हो । मेरो भोगाइ हो । लेखाइका भावलाई केही मिठो बनाउन कहिले काहीँ अक्षरमा फुलबुट्टा त भरिन्छ नै ।तर, मैले जति लेखेँ, जिन्दगीको यात्रा कहीँ कतै भोगिएका अनुभव नै उतारेँ । जति भावना पस्केँ, इमानदार भएर नै पस्किएँ । जुन दिन लेखाइमा इमानदार बन्न सक्दिन, त्यो दिन बिम्बलाई पनि अस्ताइ दिन्छु । बनाइदिन्छु, एकादेशको कथा । हाँसेरै ।

०००

त्यो कुरो त एकादेश कै बनिसक्यो । सम्झँदा सधै हाँसो मात्र उठ्छ । समय नै त्यस्तै थियो, मेरा उमङ्ग जवानीले मस्त थिए । साथीभाइ, इष्टमित्रसँग गहिरो घुलमिल हुने उमेर नै थियो । जति परिचय बढायो, त्यति नै जिन्दगी रमाइलो हुन्छ भन्ने भावना पनि त थियो ।

कुनै समय नेपालीले विदेश उपचार गरेँ भनेर धाक देखाउने सस्तो गन्तव्य थियो, दक्षिण भारतीय गाउँ भेल्लोर । हो, म पहिलो पटक जाँदा गाउँ नै थियो । अहिले विकसित सहर बनिसक्यो । रोगी पर्यटकले सम्पन्न बनाएको सहर ।

काठमाडौँ कै बाक्लो बस्तीमा बस्थे, उनी । दाइ झैँ लाग्ने मेरा प्यारा मित्र । सम्बोधनमा दाइ नै भन्छु । उनी मात्र होइन, उनका दाजुभाइ, आमाबाबु, आफन्त सबै आफ्ना झैँ लाग्थे । बाक्लै आउजाउ थियो, उनको घरमा, मेरो । अहिले पनि मरेको छैन, त्यो आत्मीयता । तर, समय निकै बेइमान हुँदो रहेछ । जिन्दगीको घुम्तीमा कसको हात कहाँ छुटाएर हिँड्नु पर्ने हो ? पत्तै नहुने ।

मनमा माया मरेको छैन । न उनीहरूको मप्रति, नत मेरै उनीहरूप्रति । आखिर जिन्दगी अलिखित यात्रा नै त हो । कहाँ कस्तो मोड आउँछ । कहाँ को छुटिन्छन् । अनि कहाँ फेरि अर्को सहयात्री भेटिन्छ । त्यो पनि पत्तै नहुने । मनमा मिठा डोब छाड्नेसँग पनि भेटघाट पातलिने । नचाहँदा, नचाहँदै पनि ।

एकसाथ बसिएको थियो, उनीसँग चेन्नइमा पनि । उमेरले जेठा भए पनि घनिष्ठ थियौँ, हामी । उनी केही पहिले काठमाडौँ फर्किए, म अलि पछि । चेन्नइमा गरिएका मस्ती र बदमासीको पुस्तक नै तयार गर्न सकिन्छ । जवानीको उमङ्गमा मस्त अल्लारेहरूको । उमेर नै त्यस्तो थियो, आगोमा तताइएको घिउ झैँ हरेक कुरामा जोस तप तप तप्किने । जिन्दगीका कुनै कालखण्डमा सँगालिएको अनुभवका पाप्राहरू कोट्याइने नै छन् भविष्यमा पनि, कतै न कतै । तर, काठमाडौँ फर्किएपछि यहाँका मस्तीले हाम्रो मित्रतालाई अझै निखार्‍यो । फुर्सद पायो कि कालो हिरो होन्डा लिएर हिँडी हाल्थेँ, उनकै घर । ममी सोध्थिन्, ‘कता जान लागेको ?’

जवाफ मैले होइन, बाबाले दिन्थे, ‘कहाँ हुन्छ र ? मियाँ कि दौड मस्जिद तक ।’

म फिस्स हाँस्थे, बाटो तताउँथे । 

मेरा बाबुआमा झैँ थिए, उनका बाबुआमा पनि । सन्तानलाई स्वतन्त्रताले उन्मुक्त बनाएका । केही कुरामा रोकटोक थिएन । न खान नत पिउन नै । निकै बहाना बनाइन्थ्यो, खाने पिउने ।

दिन रमाइलैसँग बिती रहेका थिए । अचानक उनलाई कम्मर दुख्ने समस्याले सताउन थाल्यो । समयसँगै दुखाइ बढ्दै जान थाल्यो । के भएर भएर भयो, कसैलाई थाहा भएन । काठमाडौँका डाक्टरलाई पनि । समस्यामाथि समस्या थपिए । एक दिन त आवाज नै निस्किएन, मुखबाट । बोल्दा हावा मात्र फुस फुस निस्कने । बोल्नै नसक्ने भए । हतार हतार अस्पताल लगियो । म पनि सँगै थिएँ । परीक्षण पश्चात् डाक्टरको निष्कर्ष थियो, ‘फङ्सनल प्रोब्लम’ । आफै ठिक हुन्छ भनेर फिर्ता पठाइ दिए । नभन्दै भोलिपल्टै आवाज फिर्ता पनि आयो । तर, कम्मरको दुखाइ घट्नु साटो बढ्न पो थाल्यो ।

समस्या यसरी बढ्दै गयो कि उनलाई उपचारका लागि भारत लैजानु पर्ने बाध्यता आइ पर्‍यो । त्यही ताका मेरो ममीलाई पनि सामान्य उपचारका लागि भेल्लोर जानु थियो । एकसाथ जाने निर्णय गरियो । 

कुनै समय नेपालीले विदेश उपचार गरेँ भनेर धाक देखाउने सस्तो गन्तव्य थियो, दक्षिण भारतीय गाउँ भेल्लोर । हो, म पहिलो पटक जाँदा गाउँ नै थियो । अहिले विकसित सहर बनिसक्यो । रोगी पर्यटकले सम्पन्न बनाएको सहर ।

सुनिन्थ्यो, क्रिश्चियन बनेको खण्डमा फोकटमा उपचार हुन्थ्यो रे ! क्रिश्चियन मेडिकल कलेजमा । निकै पटक गइयो, त्यो अस्पताल, चेन्नइमा बस्ने हामी जस्ताको दुख मध्ये एक थियो, त्यो अस्पताल । कसैलाई केही सामान्य जानकारी लिनु पर्‍यो भने घरबाट फोन आउँथ्यो । भन्थे, ‘जा त बाबु फलानोको लागि यति कुरा बुझेर आइ दे त !’

कति न रिक्सा चढेर पुग्ने जस्तो । त्यही पनि गइन्थ्यो, बुझिन्थ्यो । खबर घरमा पठाइन्थ्यो । ‘गुगल’को अभावमा निकै पटक हुलाकी बन्नु परेको थियो । त्यसरी जाँदा एकाध पटक क्रिश्चियन बन्ने अफर पनि नआएको होइन । एक पटक अस्पतालको हातामा भेटिएका थिए, एक पादरी । त्यो अस्पतालमा आफन्तको निःशुल्क उपचार गराइदिने, भविष्यमा आफूले पढ्न चाहेको कलेजमा कसरी भर्ना गराइ दिने, स्कलरसिप दिलाइ दिने प्रलोभन दिए ।

पहिले त मनमा प्रश्न उठ्यो, नचिनेका मानिसले मलाई किन यति सहयोग गर्छु भनी रहेको छन् ? कतै समलिङ्गी त होइनन् ? हट्टाकट्टा केटो देखेर नियत त बिगारिरहेका छैनन् कतै ? तर, होइन रहेछ । कुरो त झन् जटिल रहेछ । मेरो सोचलाई भङ्ग गर्दै उनले सारा कार्य गरिदिन एउटै सर्त तेर्स्याए, इसुले देखाएको मार्गमा हिँड्नु पर्ने । चर्चमा आएर ‘होली वाइन’ सेवन गर्नु पर्ने । त्यसपछि इसुको कृपाले जे चाह्यो त्यही हुन्छ रे । इसुको आशीर्वाद पाउँदा । अनि इसुको आज्ञा पाएर ती पादरीले सबै चाँजो पाँजो मिलाइ दिन्छन् रे । मेरा दुख निवारणका, मेरा सपना साकारका । उनको भनाइमा सबै समस्याको एउटै मात्र उपाय रहेछ, इसु ! एउटा बाइबल पनि हातमा थमाए । म कति नै अक्सफोर्ड मै पढ्ने सपना बुनेर बसेको जेहेन्दार केटो थिएँ जस्तो ! कुरा टार्न आउँछु भने तर, गइएन ।

धर्मका नाममा अधर्मी सोचले नेपाली मनलाई भत्काउने अभियान नेपालभित्र मात्र होइन विदेशमा पनि चालिएकै रहेछ । रोगले च्यापेका कतिले उपचारको अनि कतिले धन र सन्तानको शिक्षाको मोहमा होली वाइन ग्रहण गरे होलान् ? अहिले लेख्दा लेख्दै पो झल्याँस्स भएँ । जल्न लागेको चिम एकै पटक अत्यन्त उज्यालो बने झैँ । मेरो राष्ट्रमा लागेको डढेलोको झिल्को त अन्यत्रबाटै आयातित हो, सबैलाई थाहा छ । तर, हाम्रो धर्म–संस्कृतिमा धमिरा लगाउने काम केही होइन, निकै वर्ष अघिदेखि चल्दै आएको रहेछ । धेरैलाई थाहा नहुन पनि सक्छ । वर्षमा हजारौँ नेपालीले उपचार गराउने सीएसी अर्थात् क्रिश्चियन मेडिकल कलेजको यात्रामा कति नेपालीको धर्म परिवर्तन भयो होला ? हामीसँग अनुमान बाहेक कुनै तथ्याङ्क छैन । 

बानी त नराम्रै छ, मेरो । जहाँ पनि अलि बहकिहाल्ने । मन होस् वा अक्षर कता बग्छ कता, पत्तै नहुने । सन्दर्भ मै फर्किएँ अब । 

समयसँगै हामी दुई परिवार एउटै झैँ बनी सकेका थियौँ । मेरो ममीसहित उनकी आमा, दाइ, भाउजुसहित म र उनी भेल्लोर हिँडियो । ६ जनाको हाम्रो टोलीमा ३ जना त रोगी नै थिए । 

उनको दुखाइ यस्तो असह्य थियो कि बेला बेलामा पेन किलरको इन्जेक्सन दिई रहनु पर्ने । म पनि अलि जिज्ञासु नै छु । घरमा एक जना कम्पाउन्डर बस्थे । चिने जानेकै, जनकपुर तिरका । उनीसँग इन्जेक्सन लगाउन सिकेको थिएँ । आलु र भन्टामा लगाएर । ४५ डिग्रीको एंगल बनाएर घोच्ने, अलि कति तान्ने अनि बिस्तारै सिरिन्ज थिच्ने । पहिलो ज्ञान त्यही थियो । पानी भरिएको सिरिन्ज जहाँ घुसाउन मिल्थ्यो, सुई रोपिदिई हाल्थेँ । एक पटक त कुकुरलाई लगाउने कोसिस गरेको सफल भइएन । झन्डै टोकेन मोरोले । भेल्लोर यात्रामा त्यो सिकाइ काम आयो ।

भेल्लोरको उपचार भ्रमणमा पनि उनको रोग पत्ता लाग्न सकेन । मेरो अनुमानमा समयले नै बिस्तारै उनलाई ठिक बनायो । समय बेइमान मात्र होइन, इमानदार पनि हुँदो रहेछ । दुष्ट मात्र होइन, मायालु पनि हुँदो रहेछ । उनलाई असह्य वेदनाबाट पार त लगायो । पछि पनि अलि अलि दुख्छ भन्थे । अचेल कस्तो छ ? सोध्न पनि पाएको छैन ।

निकै वर्ष बिती सकेछ, त्यो घटनाको । जहाँ युवती देख्यो त्यहीँ मन जाने उमेरबाट वयस्क सन्तानका अभिभावक पनि बनी सकियो । त्यो बेला सन्तान जन्माउने तरखरमा आठै बजे कोठाको चुकुल ठोक्नेहरू त हजुर बाउ बन्ने उमेरमा पनि आइसके । हैट, यस्तो सोच्दा लाग्छ । समय साँच्चै बेइमान छ । साह्रै कम समय दिँदो रहेछ अल्लारे भएर मस्ती गर्न । जवानीमा जिउन ।

घटना भेल्लोर यात्रा अघिको हो कि पछिको, ठ्याक्क भन्न सकिएन । एक दिन उनले मसँग भने । किन यस्तो भइरहेको छ भन्ने मलाई मात्र थाहा छ । कसैलाई भन्दा नपत्याउलान् कि भन्ने पनि लाग्छ । तिमीलाई भन्छु है । मैले हुन्छ भनेँ । के कुरो रहेछ सुन्ने कौतुहलता पनि बढ्यो नै । 

अनि उनको कुरो सुरु भो ।

कुरो सुरु हुनुभन्दा अगाडि फेरि एक पटक आफ्नो कुरा हलुकासँग नलिन उनले आग्रह गरे । अनि पीडा पोख्न थाले ।

‘मलाई कुनै डाक्टरले ठिक पार्न सक्दैन ।’

‘किन ?’ मैले सोधेँ ।

‘हिजोआज मलाई एउटा प्रेतले सताइ रहेको छ ।’

उनको कुरो सुनेर म ट्वाँ परे । उनले कुरा तन्काउँदै जाँदा मस्तिष्कमा झन् एकपछि अर्को झट्का लाग्न थाल्यो ।

जब उनले बोल्न थाले, म निस्तब्ध भएर सुनी मात्र रहेँ । 

बेलुका मेरो कोठामा एउटा प्रेत आउँछ । पहिले झ्यालको प्वालबाट एउटा सानो डल्लो मात्र उडेर भित्र आउँछ  । अनि त्यसले आकार लिन थाल्छ । अनि म केही सोच्न नसक्ने बन्छु । हिप्नोटाइज्ड गरे झैँ । मलाई जो मन पर्छ, त्यसकै रूप धारण गर्छ । प्राय मलाई मन पर्ने फिल्मकी नायिका कै रूप लिन्छ । उनको भनाइमा हिन्दी चलचित्रका नायिका । नेपाली चलचित्रका नायिकाको त्यति ‘चार्म’ थिएन, त्यस बेला । श्रीदेवी, माधुरी, जुही जस्ता नायिकाले हिन्दी रजतपट पिटी रहेका थिए । त्यसमाथि त्यो प्रेतले रूप भने महिला कै मात्र लिँदो रहेछ । शायद प्रेत नै स्त्री लिङ्गी थियो कि ?

उनी बोल्दै गए, ‘अनि मलाई कहिले सँगै सुत्न कर गर्छ त कहिले सहर घुमाउन लैजान्छ । अनि म उसको आदेश खुरुखुरु मान्छु ।’

मलाई त मनमनै काउकुती लाग्यो । मस्त जवानीमा हिरोइनसँग सुत्न पाउनु ? त्यो पनि आफूले सपनामा देख्ने, संसारकी सबैभन्दा सुन्दरी लाग्ने युवतीसँग । हिरोइन सँग । वाह ! कुरो साँचो भए त निकै भाग्यमानी रहेछन्, यी दाइ त भन्ने लाग्यो । त्यो प्रेत स्वरूप लिएकी नायिकाहरूसँग उसको आग्रहमा जबरजस्ती रासलीला मनाउँदा आफ्नो कम्मर दुख्न सुरु भएको पनि उनले बताए । प्रेतको करणीमा परेकाले कुनै अदालतमा मुद्दा पनि त दायर गर्न सक्दैनन् थिए, बिचरा ! गरुन् त के गरुन् दाइले पनि । अनि कसैलाई बताए हाँसोको पात्र मात्र बनिने डर । उनलाई भाग्यमानी मानूँ कि अभागी दोधारमा परेँ । 

मलाई उनको कुरामा रत्तीभर विश्वास भइरहेको थिएन । दाइको दिमागी सन्तुलनमा केही लफडा भयो कि जस्तो पनि लाग्यो । केमिकल लोचा ! शायद उनले मेरो आँखाको भाका पढे होलान् । नपत्याए यी खुट्टामा हेर न, हिजो राति आउँदा त्यो ग्रीलमा ठोक्कियो अनि मेरो खुट्टै मै बजारियो । नभन्दै उनको खुट्टाको नली हाड केही सुन्निएको थियो । अनि झ्यालको ग्रील पनि केही बाङ्गिएको थियो । तर पनि, अहँ मैले विश्वास नै गर्न सकिन, उनको कथा । के गर्नु उमेर नै त्यस्तो, त्यसमाथि मेरो मन र मस्तिष्क भूत–प्रेतलाई मान्न कहिल्यै तयार नहुने । अहिले पनि मेरो सोचमा रत्तीभर परिवर्तन आएको छैन ।

अनि मैले एक रात उनकै कोठामा सुत्ने र को आउँदो रहेछ भनेर हेर्ने जोखिम मोलेँ । उनको कोठामा सुत्ने दिन खासमा मनमा डरभन्दा बढी लोभ जागेको थियो । पहिलो त प्रेत हेर्न पाइने, दोस्रो हिरोइन पनि देख्न पाइने । पर्दामा होइन, आफ्नै अगाडि । त्यो पनि स–शरीर । सक्कली नभए पनि नक्कली नै सही तर, दुरुस्तै रे । लोभ पनि जाग्यो, कतै आयो अनि श्रीदेवीको रूप लियो भने म पनि एक पटक अँगालो बेरिने आग्रह गर्छु भन्ने प्रण गरेँ । मौका मिले एक चुम्बन दन्काइ दिई हाल्छु भन्ने पनि कल्पना गरेँ । अनि एउटा गीतमा डान्स पनि गरी हाल्न पाइएला कि ?

‘तेरे मेरे होठोँ पे, मिठे मिठे गीत मितवा !’  गाउँदै ।

तर्कना त हो, समाजको नजरमा अनैतिक हुने सबै काम गर्ने चाहना गरियो । तर, सँगै सुतेर कम्मर दुखाउने चाहना भने गरिएन । त्यसमाथि त्यो प्रेत, दाइको प्रेमी वा प्रेमिका थियो । मलाई के भाउ देला र’ भन्ने सोच पलाउनु पनि स्वाभाविकै थियो ।

यस्तै तर्कनाका साथ राति दाइको कोठामा सुत्न गइयो । हिम्मत बटुल्न केही मात्रामा आँट बढाउने औषधी पनि खाइएकै थियो । अनेकौँ मिठा तर्कनाका साथ निदाइयो । अहँ राति त केही भएन । कोही आएन । जस्तो सुतिएको थियो, बिहान त्यस्तै उठियो । सग्लै । सपनामा पनि आइनन् श्रीदेवी त । त्यत्रा चाहना सबै हुरी नै उडाए । अनि दाइलाई सोधेँ, ‘खै त कोही आएन त ? सबै तपाईँको भ्रम मात्र रहेछ ।’

उनको जवाफले झन् मेरो टाउको दुखायो ।

‘आएको थियो त । लातले हिर्काउँदा समेत उठेनौँ तिमी । शायद तिमीलाई उठ्न नसक्ने बनाइ दियो कि ! म त काठमाडौँ घुमेर आएँ ।’

कतै यी दाइले आत्महत्या गर्लान् कि भन्ने अनजान भयले दिमाग बिथोल्यो पनि । उनका कुरा पत्याउने कि नपत्याउने निर्णय गर्नै सकेन, यो मस्तिष्कले । आजसम्म गर्न सकेको छैन । मनले भन्यो, कसैले यसरी कष्ट पाउन हुँदैन । मैले पत्याउन नसकेको कथाबाट समेत उनलाई पार लगाउने अनेकौँ कोसिस गरियो ।

उनका ती सारा कथा मैले पत्याएँ कि पत्याइन आजसम्म थाहा पाउन सकेको छैन । तर, उनीसँग मेरो निरन्तर यो विषयमा कुराकानी हुन थाल्यो । परिवार भित्र त हुने नै भयो । एक दिन आँखामा आँसु टल्काउँदै भनेको कुराले मनलाई निकै चिमट्यो । ‘पहिला त्यो प्रेत जसरी मायालु बनेर उपस्थित हुन्थ्यो, समयसँगै हिंस्रक बन्दै गएको छ । उसको हरेक आज्ञा मान्नु पर्छ । नत्र निकै कष्ट दिन्छ । म यो तनावबाट पार पाउन चाहन्छु । यो दुखाइबाट पार पाउन चाहन्छु ।’

दिमाग शून्य बन्यो । कतै यी दाइले आत्महत्या गर्लान् कि भन्ने अनजान भयले दिमाग बिथोल्न थाल्यो । उनका कुरा पत्याउने कि नपत्याउने निर्णय गर्नै सकेन, यो मस्तिष्कले । आजसम्म गर्न सकेको छैन । मनले भन्यो, कसैले यसरी कष्ट पाउन हुँदैन । मैले पत्याउन नसकेको कथाबाट समेत उनलाई पार लगाउने अनेकौँ कोसिस गरियो । अनि भएभरका तान्त्रिक, झाँक्री, माताको सहयोग पनि लिइयो । कालो भाले काट्नेदेखि के पो गरिएन । हरेक तान्त्रिक, झाँक्रीको आफ्नै कुरा, आफ्नै समाधानको उपाय । ‘मरता न क्या करता’ भने झैँ जसले जे भन्छ, परिवारले खुरुखुरु मान्नु पर्ने बाध्यता आइलाग्यो ।

एक पटक कामले काठमाडौँ बाहिर गएको थिएँ । फर्कँदा कथाले अर्कै मोड लिई सकेको रहेछ । एउटा तान्त्रिक आएको रहेछ । उसले झारफुक गरेपछि उनको बारीमा हड्डी गाडिएको र त्यसलाई खोलामा सेलाइ दिए प्रेतात्माबाट मुक्ति पाइने बताएछ । खनेर हेर्दा नभन्दै त्यहाँ मानवको झैँ लाग्ने हाड भेटिएछ । त्यसलाई नदीमा सेलाइएछ ।

त्यो सबै घटना मैले प्रत्यक्ष हेर्न पाइन । तर, उनको पीडा कम भए जस्तो भने लागेन । फेरि अर्को एउटा तान्त्रिक बोलाइयो । उसले त्यो फालिएको हड्डी नभएर बहुमूल्य पत्थर भएको र त्यसले नै घरमा सम्पन्नता ल्याएको अर्को तर्क दिए । साथै उनले त्यही पत्थरलाई त्यो ठाउँबाट हटाउन त्यो प्रेतले सबै नाटक रचेको कथा सुनाए । सबै वाल्ल ! 

कसको कुरा पत्याउने नपत्याउने । अन्धविश्वासले जरो गाडेको यो समाजमा । 

अहिले त उनी तगडा छन् । पूर्ण निको हुन धेरै वर्ष लाग्यो । सुन्दरी नायिकाको रूपमा देखा पर्ने प्रेतले पनि बिस्तारै उनीसँग दुरी बढाउन थालेछ । राम्रै भयो । तर खल्लै रह्यो, मेरो मन । पहिलो त सुन्दर नायिकाको भेषमा आउने त्यो प्रेतलाई भेट्न पाइएन । सपनामा मलाई काउकुती लगाउने, नाक तानेर जिस्काउने नायिकालाई अँगालोमा बाँध्न पाइएन । अनि भूत–प्रेत माथिको मेरो अविश्वास मार्न सकिएन । 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि