मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंमा कोठा : घरधनीका सर्तका चाङ, बाहुनलाई पनि सास्ती !

ADVERTISEMENT

एक टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातकै आधारमा भाडामा कोठा नदिइएको सन्दर्भ अहिले चर्चा र बहसमा छ । आफूलाई जातकै आधारमा कोठा नदिएर जातीय विभेद गरेको भन्दै रुपा प्रहरी कहाँ गइन् । घरबेटी पक्राउ परिन् । छुवाछुत कसुरको प्रमाण नपुगेको भन्दै घरबेटी रिहा भइन् ।

रुपाले जातीय विभेद गरेको भनेर घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दिएलत्तै सामाजिक सञ्जालमा यस विषयमा टीकाटिप्पणी सुरु भयो । कसैले लेखे ‘घरबेटी नेवार, अनि भाडामा बस्न खोज्ने सुनार, गाली खाने चाहिँ क्षेत्री बाहुन ।’ कतिपयले भने ‘आफ्नो घर कसलाई भाडामा दिने वा नदिने भन्ने कुरा घरबेटीको नितान्त आफ्नो अधिकार हो ।’ कतिपयले पोस्टहरू भेटिए ‘जातीय विभेद एक सामाजिक अपराध हो । तल्लो जातको भन्दै कोठा नदिनेलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ 

कतिपय ठाउँमा कोठा हेरिन्छ, कुरा मिल्छ, अन्त्यमा जातको कुरा आएपछि दलितलाई दिँइदैन । तर धेरैले नसुनेका पनि हुन सक्छन् बाहुन भएकैले पनि धेरै ठाउँमा कोठा भाडामा दिइँदैन रहेछ । 

यही प्रसंगलाई केहीले आरक्षण कोटा प्रणालीलाई समेत जोडेका छन् । धेरैले सामाजिक सञ्जालमा लेखेका छन् ‘जबसम्म जातको आधारमा नभई वर्ग र क्षमताको आधारमा कोटा खोलिँदैन, तबसम्म म छुवाछुत मान्छु ।’ त्यसैमा धेरैले कमेन्ट थपेका छन् ‘आफूलाई विभेद हुन नदिने भन्ने तर दलित हुँ भन्दै आरक्षणको कोटा चैँ पाइरहने ।’

कतिपयले यस्तो समेत पोस्ट गरिरहेका छन् कि ‘सञ्चारकर्मी रुपा सुनार आफू भाइरल हुन अभियन्तासँग मिलेर घरबेटीलाई मुद्दा हालेकी हुन् ।’ त्यही पोस्टमा ‘समाजमा रहेको विभेद र छुवाछुत अन्त्य हुनुपर्नेमा दुई मत छैन तर विभेदविरुद्धको मुद्दा कमाइखाने भाँडो भएछ’ भन्दै समर्थन गर्नेहरूको लहर छ । 

रूपा सुनारमाथि भएको भनिएको जातीय विभेदको पोस्टमाथि कमेन्टमा उनका समर्थन र विरोधमा यस्ता धेरै कमेन्टहरू देख्न सकिन्छ । कतिपयले सनकमै र रमाइलाका लागि यस्ता टिप्पणी लेखे होला । तर बेवास्ता गर्नुपर्ने कमेन्ट भने त्यो होइन । दलित समुदायप्रति आम मानिसको धारणा कस्तो छ यस्ता टीकाटिप्पणीबाट देख्न सकिन्छ ।

तर जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेहरुप्रति राज्य कठोर बन्नैपर्छ । उन्मूलनका लागि विद्यमान कानुन कार्यान्वयन हुनुपर्छ । हामीले कठोरतापूर्वक संविधान र कानुनमा भएको व्यवस्था कार्यान्वयन मात्र गर्न सके यस्ता घटना न्यूनिकरण हुन सक्छन् । र, उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् ।

एक दशक अघिदेखि म आफैँ संघीय राजधानीका विभिन्न घरहरूमा भाडामा बस्दै आएको छु । यो अवधिमा कयौँ अमानवीयतादेखि अनौठा र रोचक घटनाको साक्षी बनेको छु । धेरैको सपनाको र सफलताको यो काठमाडौं सहर साँच्चै अच्चमकै रहेछ । दलितलाई तल्लो जात भन्दै कोठा फ्ल्याट भाडामा दिन नमानेका घटना कहिलेकाँही सुन्न पाइएको छ । कतिपय ठाउँमा कोठा हेरिन्छ, कुरा मिल्छ, अन्त्यमा जातको कुरा आएपछि दलितलाई दिँइदैन । तर धेरैले नसुनेका पनि हुन सक्छन् बाहुन भएकैले पनि धेरै ठाउँमा कोठा भाडामा दिइँदैन रहेछ । 

१२ वर्ष अगाडि म काठमाडौं आउँदा बालाजुमा कोठा खोज्न गएको थिए । मैले एक घरमा बाहुन भएकैले मन परेको कोठा गुमाए । त्यो घरमा दलितलाई भने कुनै विभेद नगरिने रहेछ । मैले भने मलाई ‘किन नदिने ?’ घरबेटीले केही नबोली माथि उक्लिए । सोही घरमा कोठामा बस्ने एक भाइले कुरा खुलाएपछि बेस्सरी हाँसो उठ्यो । ती भाइले सुनाए ‘हाम्रा घरबेटीले भन्या, बाहुनहरू धूर्त हुन्छन् रे ।’ मलाई रिस उठेन बरु हाँसो लाग्यो । ‘आफ्नो घरमा कसलाई भाडामा दिने कसलाई नदिने भन्ने कुरा घर मूलीकै व्यक्तिगत स्वतन्त्रता हो’ भन्दै म आफ्नो बाटो लागेँ । 

मैले केही बर्सअघि चाबहिलमा कोठा खोज्दै जाँदा अर्को रोचक अनुभूति सँगालेँ । कोठा भेटियो तर घरधनीले मलाई नदिने निष्कर्ष सुनाए । कोठा नदिनुको कारण थियो– ‘म सिङ्गल केटा हुनु ।’ धरधनीकोे शङ्का थियो- ‘एक्ला केटो बसेपछि केटाहरूको हुलहुज्जत हुन्छ । होहल्ला गर्छ ।’ घरवालाको कुरामा मैले केही प्रतिवाद गर्न सकिन  । कोठा भाडामा लिने–दिने सन्दर्भमा घरधनीले जे सोच्छन्, बुझ्छन् त्यही नै शतप्रतिशत सही हुन्छ भन्ने ठानेँ । त्यसलाई नमानी सुखै भएन ।

जति धेरै ठाउँमा कोठा खोज्दै पुगिन्थ्यो, उत्ति धेरै नियमहरू भेटिन्थे । विद्यार्थी नराख्ने । साना बच्चाबच्ची भएकाहरू नराख्ने । केटाहरू नराख्ने । केटीहरूलाई नराख्ने । पुलिस–पत्रकार भए कोठा नदिने । राजनीति गर्ने मान्छे भए झनै नदिने । फरकफरक घरबेटीका फरकफरक सोच । ती घरधनीका अनेक ढर्रा, नियम र पालना गर्दै अर्को ठाँउमा कोठा हेर्न चहार्नुको विकल्प थिएन ।

कोठा खोज्ने क्रममा चाबहिल सरस्वतीनगरमा यस्तै अर्को रोचक नियम भेटियो । त्यहाँ घरबेटीले मोटरसाइकल गेट बाहिरै इन्जन अफ गर्नुपर्ने नियम बनाएका रहेछन् । र बाहिर निस्कँदा घरको गेट बाहिर गएपछि मात्र स्टार्ट गर्न पाइने रहेछ । त्यो घरमा बस्न त थप कुरा गर्ने आँट समेत आएन ।

पाण्डे भाइले झुटो बोलेर कोठा त मिलाए । तर धेरै समय छल्न सकेनछन् । केही दिनअघि मैले उनलाई सोधेको थिए ‘कता छ बसाइ ?’ उनले भने– ‘त्यो पुरानो ठाउँबाट सरे नि दाइ, अहिले बबरमहल बस्छु नि ।’ मैले सोधे किन सरेको ‘मेरो एक साथी रुममा आएको थियो, उसले कुरा फुस्काएछ । स्याङ्जाली भन्ने थाहा पाएपछि निकालिदिए ।’

सँगै काम गर्ने साथीको लागि वर्ष दिनअघि मध्यबानेश्वरमा कोठा खोज्दै थियौँ । पिलबोटबाट अलिअघि बढेपछि भित्र छिर्ने गल्लीमा भनेको जस्तो घर भेटियो । दुई वटा कोठा खाली रहेछ । प्राइभेट शौचालय र चौबिसै घण्टा पानीको पनि सुविधा रहेछ । तर ‘घरमा बस्नुपर्ने प्रत्येक व्यक्तिले पालना गर्नुपर्ने नियमहरू’ शीर्षक देखेरै हामी तर्सियौँ । घरबेटीले भित्तामा टाँसेका नियमको केही बुँदाहरू निकै अनौठा, रोचक मात्र थिएनन्, कडिकडाउ थिए । ‘घरबेटीको अनुमतिविना कसैले कोठामा अरू साथीहरू, पाहुना ल्याएको पाइएमा महँगो जरिवाना रहेछ । दिउँसोको हकमा प्रतिव्यक्ति ५ सय रुपैयाँ र रातको हकमा एक हजार जरिवानासमेत गरिने नियम रहेछ ।

अझ सबैभन्दा रोचक त 'विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिबिना कसैले पनि कोठामा केटी ल्याउन पाइने छैन' लेखिएको थियो । ‘यदि ल्याएको थाहा पाएमा प्रहरीलाई खबर गरी हिरासतमा दाखिला गरिनेछ’ भन्ने उल्लेख थियो । किन यति कठोर नियम भन्दै ती घरबेटीलाई सोध्यौँ । उनले भने ‘भोलि प्रेमकै निहुँमा मेरो घरको कोठामा केही नराम्रो घटना भयो भने को जिम्मेवार हुने ?’  यस्तो कुरा सुनेपछि साथीले ठाडै अस्वीकार गरिदियो ।

झापाली र स्याङ्जालीका उस्तै समस्या

काठमाडौंमा भूगोलको आधारमा समेत धेरै मानिसहरूले कोठा पाउनबाट वञ्चित भएको देखियो । यो अवस्था यही काठमाडौंमा अहिले पनि यदाकदा रहेछ । भूगोलकै कारण देखाउँदै कोठा पाउन सकस बेहोर्नेमा मेरो एक पूर्व सहकर्मी नै छन् । मैले पहिले काम गर्ने एक टेलिभिजनमा स्याङ्जाका पाण्डे थरका एक भाइ पनि थिए । उनी हालसालै काठमाडौं आएका रहेछन् । जहिले पनि कार्यालय ढिला आउँथे । ढिला आउनुको कारण हुन्थ्यो ‘कोठा खोज्दा खोज्दा अफिस आउन ढिला हुने ।’ 

उनले कोठा पनि नपाएका होइनन् । तर नदिइएको रहेछ । कोठा भाडामा नदिनुको कारण उस्तै रोचक थियो । ‘स्याङ्जाली जाली हुन्छन् रे’ भन्दै घरबेटीले अस्वीकार गर्थे रे । पछि उनले आफ्नो घर पाल्पा भन्दै झुटो बोलेरै कोटेश्वरमा कोठा पाएछन् ।

पाण्डे भाइले झुटो बोलेर कोठा त मिलाए । तर धेरै समय छल्न सकेनछन् । केही दिनअघि मैले उनलाई सोधेको थिए ‘कता छ बसाइ ?’ उनले भने– ‘त्यो पुरानो ठाउँबाट सरे नि दाइ, अहिले बबरमहल बस्छु नि ।’ मैले सोधे किन सरेको ‘मेरो एक साथी रुममा आएको थियो, उसले कुरा फुस्काएछ । स्याङ्जाली भन्ने थाहा पाएपछि निकालिदिए ।’ महिनौँ महिना कोसिस गर्दा पनि उनले कोठा पाएका थिएनन् । तर अघिल्लो सालको लकडाउनका कारण लामो समयदेखि कोठा खाली भएकाले घरबेटीले उनलाई कोठा दिएछन् । 

मेरा एक जना काफ्ले थरका साथी नयाँबानेश्वरमा बस्छन् । उनको घर झापा हो । उनी काठमाडौं आएको १५ वर्ष भयो । सुरुमा पढ्ने उद्देश्यले आएका उनी अहिले पत्रकारिता गर्छन् । झापाली भन्दै उनलाई कोठा नदिइएपछि कोठा खोज्न एक जना दिदीलाई जिम्मा दिएछन् । एक हजार रुपैयाँ चार्ज तिरेपछि बल्लबल्ल ती साथीलाई मध्यबानेश्वरमा कोठा मिलेछ । अहिले उनी पत्नी र एक छोरीसँगै बानेश्वरमा बस्छन् । ‘झापाली’ भन्दै कोठा नदिएको यस्ता रोचक किस्सा उनले चिया भेटमा सुनाइरहन्छन् ।

कोठा पाएपछिका पनि अनेक सास्ती

यी प्रसङ्ग त भए कोठा नपाएका  । तर काठमाडौंमा कोठा मात्रै पाएर पुग्दैन । कति वाटको कति वटा चिम बाल्ने ? कुन कोठामा कति जना बस्नुपर्ने हो ? त्यसका अनेक सर्तहरू छन् । कोठा भाडाको शुल्कसँगै जोडिदिएर धेरै शुल्क थपिन्छ । बत्तीको यति, फोहोरको यति, पानीको यति । त्यो सबै जोड्दा फ्ल्याट होइन, एकदुई कोठामा धान्नेहरूको पनि लगभग एक हजार थपिन्छ । अबेरसम्म पढ्यो, अबेरसम्म काम गर्‍यो भनेर बत्तीको स्विच अफ गरिदिने घरबेटी पनि छन् ।

हिजोआज भने कतिपय अलिक आधुनिक धरधनी भेटिन्छन् । जसले हामीजस्ता डेरावाललाई बढी सेवा सुविधा दिएको देखाएर फन्दामा पारिरहेका छन् । ट्याङ्करको पानी, केवल टिभी, इन्टरनेट, बिजुली, फोहोरको चर्को मूल्य असुल्न पोख्त छन् । यी शीर्षकबाट थप दुई चार सय कमाउने सीप भएका घरधनीले ग्राहकलाई रिझाएर चर्को मूल्य असुलिरहेका भेटिन्छन् ।

काठमाडौंका घरबेटीलाई लाग्ला भाडामा बस्नेहरू फगत चरा मुसा हुन् । लाग्दो हो काठमाडौंमा घर हुनु भनेको त चन्द्रमामै पुगेजस्तो हो । तर काठमाडौंमा नभए पनि देशका कुनै न कुनै भूभागमा अधिकांशको घर हुन्छ नै । तैपनि काठमाडौं बाहिरकालाई हेर्ने नजर राम्रो नदेखिएकैले यस्ता हेपाहा प्रवृत्ति मौलाएका हुनसक्छ । 

काठमाडौंका सबै घरवालामा यही र यस्तै प्रवृत्ति छ भन्न खोजेको कदापि होइन । कतिपय घरवाला सहयोगी छन् । एकअर्काको पीरमर्का बुझ्छन् । भाडामा बसेकालाई परिवारकै सदस्य सरहको व्यवहार पनि गर्दछन् । औचोपैचो पनि चल्ने गर्दछ । घर हुँदैमा जीवन धान्न पर्याप्त नहुने अवस्था पनि हुन सक्छ । काठमाडौंमा कतिपय घरधनीको यो अवस्था पनि छ । चार/पाँच आना जग्गाका घरमा बनेर उब्रिएको भागमा उब्जनी खासै हुँदैन । अन्नबालीबाट कमाउने भन्ने सवाल नै सकियो । कतिपय घरधनी कोठा वा फ्ल्याटमा बस्नेहरूबाट उठाएको भाडाका भरमा गुजारा चलाउँछन् । कतिले त्यही भाडाबाट घर बनाउँदा वा अन्य कामका लागि लिएको बैङ्कको किस्ता तिर्छन् । उनीहरूका लागि भाडावाल नै अन्नदाता हुन् ।

घर हुनेले कोठा वा फ्ल्याटमा बस्नेहरूलाई सम्मानजनक व्यवहार गरौँ । काठमाडौंमा घर छ भन्दैमा बाहिरबाट आउनेहरूलाई अपमान, हेलाँ नगरौँ । सबैको घरबेटी र भाडावालसँग सुमधुर सबन्ध बनाऔँ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि