मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनकै बीच एलओडीमा भव्य पार्टी, बर्थडेवाला र क्लब सञ्चालक खोज्दै प्रहरी

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । मृत्यु हुनेको संख्या बढ्दो छ । धेरैजसो भारतबाटै आएकाहरु संक्रमित भएका छन् । उनीहरुबाटै समुदायमा कोरोना भाइरस सक्रमण फैलिएको छ । सामाजिक दूरी कायम गर्न भन्दै गरिएको लकडाउन जारी छ ।
सर्तकता अपनाउन भन्दै २५ जनाभन्दा एकै ठाउँमा जम्मा नहुन सरकारले आग्रह गरेको  छ ।

लकडाउनको गरिएको तीन महिना पूरा भएको छ । पसल, बजार र निजी सवारी खोल्दै केही खुकुलो बनाएको दुई साता पुग्न लागेको  छ । तर पनि मानिसहरुले सामाजिक दूरीमा रहनै पर्छ । पसल बजार सुरक्षित रुपमा खोल्न अनुमति दिए पनि क्लब लगायतका मनोरञ्जनका क्षेत्र अझै बन्द नै छन् । जुन भिडभाड बढी हुने भन्दै लकडाउन सुरु हुनु एक साता अघिदेखि नै बन्द गरिएको हो । 

तर, यहीबीच काठमाडौमैं कैयौँ मानिस जमेर भव्य पार्टी गरिएको छ, त्यो पनि नाइट क्लबमा । काठमाडौंको चर्चित क्लब एलओडी अर्थात् ‘लोड अफ द ड्रिंग्स’मा व्यापारिक घरानाका गौरव अग्रवालले जन्मदिनको पार्टी गरेका हुन् ।

गएराति बिहीबार राति उनले ८ बजेबाट ११ बजेसम्म आफ्ना आफन्त, नातागोता, साथीभाइहरु करिब ३ सय बढीलाई भव्य पार्टी दिएका हुन् । निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ । सोही उपयोग गर्दै पार्टी मनाउन सयौँ मानिसहरु ओइरिएर गए । प्रहरीले समेत भव्य पार्टी भएको कहीँकतै सुइँको पाएन ।

सरकारले २५ जनाभन्दा बढी एकै ठाँउमा भेला हुन नदिने भनिए पनि ३ सय बढी भेला भएको सहभागीहरुले बताएका छन् । नेपाल फ्ल्यासलाई प्राप्त भिडियोमा सयौँका संख्यामा मानिसहरु देखिन्छन् ।

कतिपय नाचिरहेका छन्, कतिपय पिइरहेका र हुक्का तानिरहेका देखिन्छ । सहभागीहरु अधिकांश युवा युवतीहरु छन् । त्यत्रो भिडले सामाजिक दूरीको नियमलाई पालना गर्ने त कुरै भएन । 

प्रशासनलाई चुनौती दिँदै पार्टी गर्ने को हुन् ?

केही समयअघि सांसद अपहरण गरिएको स्थान भनेर चर्चामा रहेको होटल मेरिएटमा पार्टी सकेर एलओडी क्लबमा पार्टी गरिएको होटलका एक कर्मचारीले बताए । बर्थडे पार्टी आयोजक अग्रवाल मेरिएटमै आबद्ध व्यक्ति हुन् ।

सरकारको नियमलाई उल्लंघन गर्दै कानुनलाई चुनौती दिँदै उनले आयाजना गरेको पार्टीमा केही सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तल्ला दर्जाका नेताहरुसमेत देखिएका सहभागीहरुले बताए ।

‘लकडाउनमा क्लब पनि खुल्छ र ? कसरी बर्थ डे पार्टीमा आउनु भनेर सोध्दा आयोजकले, हामीलाई केको कानुन न सानुन । भव्य पार्टी हुन्छ भन्दै बोलाए, जाँदा त साँच्चै सानदार पार्टी भयो,’ सहभागी एकले नेपाल फ्ल्यासलाई बताए । 

नेपालमा कोरोना संक्रमण बढ्दो चरणमा छ । काठमाडौ‌ंमै धेरै संक्रमित छन् । बिहीबार नै काठमाडौंमा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । यो अवस्था हेर्दा रेड जोन काठमाडौंलाई नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२.१ लागू गर्दै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने परिस्थिति छ ।

कोरोनाले लेभल ४ क्रस गर्नै लागेको  छ । यस्तो अवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने हो । तर, उल्टै रेड जोन काठमाडौँमै सयौँ जना भेला भएर पार्टी गरेपछि प्रहरी प्रशासनसमेत चकित परेको छ ।

बर्थडेवाला र क्लब सञ्चालक फरार

प्रहरी प्रशासनलाई चुनाैती दिँदै लकडाउन उल्लंघन गरी भव्य पार्टी आयोजना गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने तयारी प्रहरीले थालिसकेको छ । सधैँ एलओडी नजिकै देखापर्ने सञ्चालकहरु अहिले बाहिर देखिएका छैनन् । उता बर्थ डे ब्वाई अग्रवालसमेत होटलमै छैनन् । उनी यसअघि होटलमै भेटिन्थे । 

बर्थडे पार्टी आयोजक अग्रवाल र एलओडी क्लब सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौ‌ं स्रोतले जनाएको छ ।

प्रहरी स्रोतले भन्यो ‘उनीहरुलाई संक्रामक ऐन, २०२० मा टेकेर मुद्दा चलाइनेछ, कसैले पनि कानुनविरुद्ध जान पाउने छैन ।’ 
संक्रामक ऐन २०२० मा अनुसार दोषीलाई कसुर हेरी दुई वर्षसम्मको जेल सजाय हुने उल्लेख छ ।

त्यससँगै लकडाउन उल्लंघनमा थप सजाय हुनसक्ने छ ।

यो पनि