मंसिर ०६, २०८१, बिहीबार
               

काँग्रेस हिन्दु राष्ट्रको पक्षमा मोडिँदै, पार्टीभित्र निर्णायक लडाइँ चल्दै

नेपाल फ्ल्यास
भदौ १७, २०७६

ADVERTISEMENT

पार्टीले लामोसमयदेखि बोकेको एजेन्डा छोडेसँगै राष्ट्रिय राजनीतिमा भूमिका खुम्चिएको नेपाली काँग्रेस अन्ततः हिन्दु राष्ट्रको एजेन्डामा फर्कने कसरतमा छ ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा बालकृष्ण खाँड, एनपी साउद र शेखर कोइरालासहितका प्रभावशाली नेताहरूले पार्टीलाई स्थापित गराउन हिन्दु राष्ट्रको मुद्दा तत्काल उठाउनु पर्ने बताएका हुन् ।

ती नेताहरूले लामो समयदेखि परिवर्तनका एजेन्डालाई साथ दिँदैआएका थिए ।

काँग्रेस महामन्त्री शंशाक कोइराला पहिलेदेखि नै हिन्दु राष्ट्रको पक्षमा उभिँदै गएका छन् । यो एजेन्डालाई देउवाले साथ नदिएमा काँग्रेसको समीकरण परिवर्तन हुन सक्ने अवस्था आएको छ । सदैव देउवालाई सहयोग गर्दै आएका खाँड र साउदसमेत हिन्दु राष्ट्रको पक्षमा उभिएपछि अहिले नेतृत्वलाई समस्या देखिएको छ ।

त्यस्तै विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले अबको महाधिवेशनमा हिन्दु राष्ट्रको मुद्दा बोक्ने नेता अध्यक्षमा निर्वाचित हुने ठोकुवा गरेका छन् ।

उनले भारतमा हिन्दुत्वको मुद्दा बोकेर नरेन्द्र मोदीले एकछत्र राज गरेको तर काँग्रेसले त्यही मुद्दा छोडेका कारण पार्टीको अस्तित्वमै सङ्कट आएको धारणा राखेका छन् ।

काङ्ग्रेसभित्र पुष्पा भुसाल, शङ्कर भण्डारीलगायतको स्वर्गीय नेता खुमबहादुर खड्का पक्षधर समूहले पहिलेदेखि नै हिन्दु राष्ट्रको पक्षमा उभिदैआएको छ ।

यस पटक महाधिवेशनको चर्चा सुरु भएसँगै हिन्दु राष्ट्रको बहस फेरि चर्किन थालेको हो । खुमबहादुर खड्काको निधनसँगै पार्टीभित्र यो मुद्दा केही ओझेलमा परेको थियो । तर पछिल्लो दिनमा नेताहरू एकाएक खुल्न थालेका हुन् ।

काँग्रेस बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी महाधिवेशनसम्म हिन्दु राष्ट्रको पक्षमा दुई तिहाइ पुग्ने भन्दै नेतृत्वलाई सचेत गराएका थिए ।

केन्द्रीय समितिमा परिवर्तन र संविधानका मुद्दामा अपनत्व लिनुपर्ने धारणा केही नेताले राखे पनि कार्यकर्तास्तरमा अधिकांशका राय हिन्दु राष्ट्रको पक्षमा रहँदै आएको छ ।

गएको पुषमा भएको महासमिति बैठकमा झन्डै आधा सदस्यले हिन्दु राष्ट्रको माग गर्दै प्रस्ताव ल्याएका थिए ।


कस्तो लाग्यो ?

यो पनि