मंसिर ०७, २०८१, शुक्रबार
               

जनयुद्ध दिवस मनाइँदै

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् । 

विक्रम संवत् २०५२ साल फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गरेको सम्झनामा यो दिवस मनाइँदै आइएको छ । 

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

२०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । 

सशस्त्र विद्रोह सुरु भएको दिनलाई तत्कालीन माओवादीमा रहेका दलहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । 

शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन् । विभिन्न पार्टी र समूहमा विभाजित उनीहरूले केन्द्रदेखि जिल्लासम्म छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । 

तत्कालीन माओवादीको मूल नेतृत्व नेकपा एमालेसँग पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ । 

पहिलो संविधानसभा विगठनपछि तत्कालीन माओवादीबाट विभाजन भएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द विप्लव समूह अलग अलग पार्टीमा छन् । यी पार्टीले काठमाडौँ तथा देशैभर र्‍याली तथा सभा आयोजना गरेका छन् । 

दोस्रो संविधानसभा र संविधान जारीपछि तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग भएका डा. बाबुराम भट्टराईले अलग पार्टी गठन गरेका थिए । हाल अहिले उनले उपेन्द्र यादवको पार्टी (समाजवादी पार्टी) सँग एकता गरेका छन् । उनले जनयुद्ध दिवस औपचारिक रूपमा नमनाउने बताइएको छ ।

तत्कालीन माओवादीको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड हाल नेकपाका अध्यक्ष छन् । नेकपाले  अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘जनयुद्ध दिवस’ मनाउँदै छ । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो । अन्योलकै बिच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो । तर त्यति बेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन् ।

उनीहरूको सहभागिता नभएपछि पूर्वमाओवादीका कार्यकर्ताले आलोचना गरेका थिए । पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भिड नै लागेको थियो । 


कस्तो लाग्यो ?

यो पनि