काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको सैनिक पहिलो संशोधन विधेयक, २०७६ पेश गरेका छन् ।
उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिए ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ पेश गरे । बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गत ९पार्लेमो अभिसन्धि० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गरे ।
शोक प्रस्ताव बैठकले २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहेका उन्को ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो । प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ ।