नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध सुरुगरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनीकारबाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध
गरेका हुन् ।
यसैगरी नेविसंघकी केन्द्रीय महामन्त्री उर्मिला थपलियाले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराउन आलटाल गरिरहेको तथा पुस्तकमा १० प्रतिशत कर लगाइएको विषयमा आपत्ति जनाइन् ।
त्यसैगरी, आरआर क्याम्पस इकाइ समितिका उपसभापति सुनील शर्माले पेट्रोलमा सरकारले थप पाँच रुपैयाँ मूल्यवृद्धि गरेको विषयमा विरोध जनाए । उनले भने, ‘सरकारले पेट्रोलमा गरेको मूल्यवृद्धिको विषयमा हाम्रो ध्यान केन्द्रित भएको छ, यसमा सरकारले वृद्धि गरेको मूल्य फिर्ता गर्नुपर्ने हाम्रो माग हो ।’
नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनले सेक्युरिटी प्रेस खरिदमा मुछिएका गोकुल बाँसकोटा तथा बालुवाटारका. जग्गा काण्डमा मुछिएका अन्य लाई तुरुन्तै कारबाही हुनुपर्ने आक्रोश पोखे ।
महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे । ‘सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ’, उनले भने । अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए।