मंसिर ०७, २०८१, शुक्रबार
               

यसरी मिल्दै छ राप्रपा
एकतापत्रमा हस्ताक्षर आजै

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

राप्रपा र राप्रपा संयुक्तबीच एकता हुने भएको छ । महाधिवेशनसम्मका तीन जना अध्यक्ष रहने मोडलमा राप्रपा मिल्न लागेको हो ।

कमल थापा नेतृत्वको राप्रपा तथा पशुपति सम्सेर राणा र डा‍. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त मिलेर राप्रपा बन्ने भएको छ । घटनाक्रमले नाटकीय मोड नलिएमा पार्टी एकतामा शनिवार नै हस्ताक्षर हुने राप्रपाको उच्च स्रोतले जनाएको छ ।

एकतापछि राप्रपाले हिन्दुत्व र संवैधानिक राजतन्त्रलाई प्रमुख एजेन्डा मान्ने भएको छ । राप्रपा संयुक्तका नेता हरिबहादुर बस्नेतको पहलकदमीमा यस पटक एकताको सूत्र निकालिएको थियो । उसले सम्वर्द्धनवादलाई आफ्नो मूल नीति मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीति मान्ने भएको छ । त्यसै गरी सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा राप्रपा उभिने भएको छ ।

यसअघि पनि राप्रपा एकताको प्रयास पटकपटक भएको थियो । तर नीति र नेतृत्व दुवैमा समस्या देखिँदै आएको थियो ।

राप्रपा एकतामा ढिलाइ हुनुको मूल चुरो थियो चुनाव चिन्ह । एकतापछि उपयुक्त निकायबाट महाधिवेशन अगावै चुनाव चिन्ह तय गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

२०४७ साल जेठ १५ गते गठन भएको राप्रपा पटकपटक विभाजन हुँदै आएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा करिब २० प्रतिशत जनमत लिएर राप्रपा मुलुकको सशक्त शक्ति बनेको थियो । तर २०५४ सालमा विभाजन भएपछि राप्रपाको सङ्गठन खस्किएको थियो ।

गएको संसदीय निर्वाचनमा राप्रपा विभाजित भएकै कारण राष्ट्रिय दल बन्न सकेको थिएन । राप्रपा नाममा तीन वटा दल चुनावमा होमिएका थिए । तिनैवटा दलको मत जोड्दा त्यो राष्ट्रिय दल बन्न पर्याप्त थियो ।

जनमतका आधारमा नेकपा र नेपाली काङ्ग्रेसबाहेकका दलले राप्रपालाई उछिने सकेका छन् । तर यसको शक्ति भने देशका सबै स्थानीय तहमा कुनै न कुनै रूपमा उसको उपस्थिति छ । यसको ७७ वटै जिल्लामा सङ्गठन छ । संसदीय निवार्चनमा सबै क्षेत्रमा उम्मेदवार उठाउने हैसियतमा यो दल नेकपा र काँग्रेसको हाराहारीमा छ ।

यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो छ । अध्यक्ष कमल थापा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बनिसकेकाले उनको बाह्य सम्बन्ध पनि छ । प्रखर वक्ता थापामा सङ्गठनका लागि अहोरात्र खट्न सक्ने तागत छ । उनले राप्रपालाई प्रवासमा पनि विस्तार गरेका छन् । त्यस्तै राप्रपा संयुक्तका अध्यक्ष पशुपति सम्सेर राणा भारतको सत्तासीन भाजपा र विपक्षी कङ्ग्रेस आइको उपल्लो तहमा पहुँच राख्न सक्छन् । उनको युरोपेली मुलुकहरूसँग पनि मित्रवत् सम्बन्ध छ । पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा‍‍. प्रकाशचन्द्र लोहनी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय वित्त एवं विकास संस्थाहरूमा परिचित छन् । उनलाई सफल एवं सुशासनको पक्षपाती अर्थमन्त्रीको रूपमा धेरैले स्वीकारेका छन् । राप्रपाका संस्थापकमध्येका एक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेपालकै शालीन र भद्र नेता मानिन्छन् ।

यो दलमा पूर्वमन्त्री बुद्धिमान तामाङ जस्ता कुशल संगठक क्रियाशील छन् । त्यस्तै पूर्वमन्त्री सुनिलबहादुर थापा राष्ट्रिय एवं विदेश मामिलाका सफल खेलाडी राप्रपामा छन् । राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङदेन र नेपालगन्ज उपमहानगरका प्रमुख धवल सम्सेर राणा उदाउँदा अनुहार हुन् । पूर्वमन्त्री दीपक बोहरा, विक्रम पाण्डे र जयन्त चन्द राप्रपामा प्रभावशाली मानिन्छन् ।


कस्तो लाग्यो ?

यो पनि