काठमाडौँ । लामो प्रयासपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता भएको छ ।
राप्रपा संयुक्तका अध्यक्ष पशुपति सम्सेर राणाको महाराजगन्जस्थित निवासमा शनिवार साँझ दुवै पार्टीका शीर्ष नेताले अन्तिम कसरत गरेका थिए । त्यसपछि लाजिम्पाट पानीपोखरीस्थित एक होटलमा एकतापत्रमा हस्ताक्षर गरेका हुन् । एकता घोषणा समारोह संभवत बुधबार गर्ने नेताहरूले जनाएका छन् ।
शनिवार मध्यान्ह नै हस्ताक्षर हुने भनिए पनि पार्टीको अन्तरिम विधानबारे कुरा मिलेको थिएन । एकतापछि महाधिवेशनसम्मका तीन जना अध्यक्ष रहने छन् ।
कमल थापा नेतृत्वको राप्रपा तथा पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त मिलेर एकीकृत पार्टीको नाम राप्रपा रहेको छ ।
एकतापछि राप्रपाको प्रमुख एजेन्डा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हुने भएको छ । राप्रपा संयुक्तका नेता हरिबहादुर बस्नेतको पहलकदमीमा यस पटक एकताको सूत्र निकालिएको थियो । उसले सम्वर्द्धनवादलाई आफ्नो मूल नीति मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीतिमा निरन्तरता दिने भएको छ । त्यसै गरी सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा राप्रपा उभिने भएको छ ।
यसअघि पनि राप्रपा एकताको प्रयास पटकपटक भएको थियो । तर नीति र नेतृत्व दुवैमा कुरा मिलेको थिएन । राप्रपा एकतामा ढिलाइ हुनुको मूल चुरो थियो चुनाव चिन्ह । एकतापछि उपयुक्त निकायबाट महाधिवेशन अगावै चुनाव चिन्ह तय गर्ने सहमति भएको स्रोतले जनाएको छ । थापा पक्षधर गाई चिन्हको पक्षमा छन् । जनस्तरमा गाई नै सहज र विकाउ हुने दाबी राप्रपा पक्षधरको छ । राणा र लोहनी भने हलोको पक्षमा छन् । गत निर्वाचनमा चुनाव चिन्हकै कारण पनि पराजय भोग्नु परेको उनीहरूको तर्क छ । उत्तरी भेगमा गाईको सट्टा हलो चिन्ह भए निर्वाचनमा सहज हुने उनीहरूको दाबी छ ।
२०४७ साल जेठ १५ गते गठन भएको राप्रपा फुट्दै र जुट्दै आएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा करिब २० प्रतिशत जनमत लिएर राप्रपा मुलुकको सशक्त शक्ति बनेको थियो । तर २०५४ सालमा विभाजित भएपछि राप्रपाको सङ्गठन खस्किएको थियो ।
गएको संसदीय निर्वाचनमा राप्रपा विभाजित भएकै कारण राष्ट्रिय दल बन्न सकेको थिएन । राप्रपा नाममा तीन वटा दल चुनावमा होमिएका थिए । तिनैवटा दलको मत जोड्दा त्यो राष्ट्रिय दल बन्न पर्याप्त थियो ।
साङ्गठनिक रूपमा कमजोर भए पनि देशका सबै स्थानीय तहमा कुनै न कुनै रूपमा आफ्नो उपस्थिति रहेको राप्रपाका नेताहरूको भनाइ छ । उसको ७७ वटै जिल्लामा सङ्गठन छ ।