महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्जार्चबारे कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ । एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली आफैँले डिस्चार्ज मागे पनि नदिइएको अस्पताल स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई सामान्यतय ५ दिनमा डिस्जार्च गरिने गरिएको छ । तर प्रधानमन्त्री ओलीमा भने थप संक्रमण नहोस् भनेर एक दुई दिन थप अस्पतालमा नै राख्ने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको डिस्चार्जको बिषयमा कुनै अनुमान नगर्न पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आग्रह गरेका छन् । विभिन्न समाचारमाध्यमहरुमा अनुमानका भरमा डिस्चार्ज हुने मितिका समाचार आउपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताउँदै छिट्टै डिस्चार्ज हुने जनाएका छन् । ‘बाहिर समाचारमा आएजस्तो प्रधानमन्त्री डिस्चार्ज हुने मिति तय भएको छैन, स्वास्थ्यमा भने उल्लेख्य सुधार आएको छ,’ थापाले भने ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकुमार खड्गाले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका छन् । संक्रमण हुन नदिन अस्पतालले प्रधानमन्त्री ओलीसँग बाहिरी मान्छेसँगको भेटघाटमा कडाई गरेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्त्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई फिजियोथेरापी पनि निरन्तर भइरहेको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनी पनि सामान्य खाना खान र हिँड्डुल गर्न थालेको जनाइएको छ ।