मंसिर ०७, २०८१, शुक्रबार
               

सीमा विवाद समाधानको लागि सांसदहरुको यस्तो माग

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । 

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे । 

‘अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ । विगतका सरकारले कुटनीतिज्ञले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ । उनले भने, अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा पनि समस्या समाधान गर्न लाग्नुपर्छ ।’ 

सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गरिन् ।

अर्का सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन दिँदा सरकारले कार्यान्वयन गर्दैन भने छलफलको के औचित्य भन्दै प्रश्न गरिन् । 

मिनी संसदले गरेको निर्णय किन सरकारले पालना गरिरहेको छैन भन्दै सांसद रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न समेत गरिन् । 

उनले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको भूमि भारतको भनेको के हो त्यसबारे जवाफ दिन माग गरिन् । नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनिएको छ के हो त्यस्तो समस्या स्पष्ट पार्न पनि उनको माग थियो । 

कोरोना संक्रमणपछि भारतले कुटनीतिक छलफल गर्ने भनेर अलमल्याउन खोजेको र विगतमा गरेको गल्तीबाट पाठ सिक्न आग्रह गरिन् । 

उनले सीमा मिचिएको बारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गरिन् । 

तत्काल विज्ञ टोली पठाउ 

सांसद भीम रावलले विगतकाले हिजो गरेनन् भनेर आजको दायित्वबाट पन्छिन नपाइने बताए । संसदले दिएको निर्देशन पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । 

उनले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो ? भन्दै प्रश्न गरे । 

उनले भारतको अतिक्रमणबारे परराष्ट्र मन्त्रालयले हस्ताक्षर विनाको  बेवारिसे बक्तव्य निकालेको भन्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसार यस्तो विषयमा देशले आफ्ना प्रवक्तलाई सशरीर उभ्याएर खण्डन गर्ने बताए ।  उनले कतिपय गर्नुपर्ने साना कामको गलत ब्याख्या गरेर कोही पनि उम्किन नसक्ने बताउँदै वक्तव्य हस्ताक्षर सहित र प्रवक्ता मार्फत खण्डन गर्नुपर्नेमा जोड दिए । 

उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन माग गर्नुका साथै नेपालको नक्सा प्रकाशन गर्न पनि माग गरे । 

उनले भने, ‘हामी सैन्य शक्तिमा कमजोर छौं होला तर हामी सार्वभौमरुपमा कमजोर छैनौँ । उसले हाम्रो भूमि समेटेर नक्सा प्रकाशन गर्ने तर हामी त्यो क्षेत्रमा पनि नपुग्ने र नक्सा पनि किन प्रकाशन गर्न नसक्ने ? यो विषय सबै नेपालीको साझा विषय विषय हो । हामी भारत विरोधी पनि छैनौँ, चीन विरोधी पनि हैनौं, हामी नेपाली पक्षधर हौं । हामीले त्यहाँ तत्काल विज्ञ टोली पठाऔं ।’

उनले दिल्लीमा रहेको राजदूतलाई अह्रराएर केही काम नहुने भन्दै स्थलगत रुपमा के छ नेपाल सरकारले किन नहेर्ने भन्दै प्रश्न गरे । 

एकचोटी हल्ला गर्ने अनि सामसुम गर्ने काम नगरेर तत्काल नेपालको नक्सा प्रकाशन गर्दै भारत सरकारसँग छलफल गर्न माग गरे । 

समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल उपस्थित छन् । 


कस्तो लाग्यो ?

यो पनि