कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सील गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय भारतबाट लुकिछिपी आउने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे । भारतबाट आउने क्रम नरोकिएपछि सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।
भारतबाटै आएकाहरूमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सिल गर्ने निर्णयसँगै तरकारी तथा खाद्यान्न किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्ट्याइएको छ ।
सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्ध भूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सतर्कता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
अब पूर्व-पश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दूधका ट्याङ्कर, एम्बुलेन्स लगायतका साधनहरू नरोकीकन आउजाउ गर्न सक्नेछन् ।
स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । कपिलवस्तुमा मात्र (सोमबारसम्म) कोरोना संक्रमितको सङ्ख्या १५ पुगेको छ ।