काठमाडौं । भारतले नेपाली भूमिमा हस्तक्षेप र अतिक्रमण गरेको भन्दै काठमाडौंको लैनचैरस्थित विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा युवा तथा विद्यार्थीहरू रिहा भएका छन् ।
लैनचौरस्थित भारतीय दूतावास बाहिर प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । भारतले नेपाली भूमिबाट सडक निर्माण गरेको भन्दै भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।
त्यसक्रममा उनीहरूले 'लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाऊ, नेपाली भूमि मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद' लगायतका नारा लेखेका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको थियो । पक्राउ पर्नेमा राप्रपा नेतृ सरस्वती लामा, कुन्तीकुमारी शाही, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलाश कटुवाल, शशी भण्डारी, नीराजन बम, जगदीश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउतलगायका विद्यार्थी तथा युवाहरू रहेको नेता बर्तौलाले जानकारी दिए ।
प्रकाउ परेलगत्तै राप्रपा अध्यक्ष कमल थापाले ट्विट गर्दै उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
नेपाली भूमी अतिक्रमणको बिरुद्धमा राप्रपा आबद्ध भातृसंगठनहरुले गरेको प्रदर्शनमा प्रक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्।
— Kamal Thapa (@KTnepal) May 11, 2020
राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि राप्रपा सदैव प्रतिबद्ध रहने छ pic.twitter.com/2fiqftfMFJ