हेटौँडा । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले सीमा अतिक्रमणको विरोधमा आज बिहीबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।
केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप मुर्दावाद, सीमा मिच्न पाइँदैन, कालापानी-लिपुलेक हाम्रो हो, आत्मसमर्पणवाद मुर्दावाद जस्ता नारा लगएका थिए ।
विद्यार्थी नेताहरूले मातृभूमिको निमित्त बलिदान गर्न तयार रहेको भन्दै सरकारले खुट्टा कमाउन नहुने बताए । विदेशीको हेपाहा र मिचाहा प्रवृत्तिविरुद्ध सरकार खरो रूपमा नउत्रिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिए ।