काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानबाट फेला पारेका मोटरसाइकलफिर्ता दिएको हो । सवारी साधनहरू लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
उपत्यकाका म्हैपी, बालकोट, कीर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ट्रमा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, पशुपति पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी मंगबलार सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाए ।
महाशाखाका प्रमुख एसएसपी ढकालले भने, ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाइकल बढी चोरी हुन्छन् ।’
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए । महाशाखाले यस आर्थिक वर्ष २०७६/०७७ मा मात्रै चोरी भएका ३ सय ८ वटा मोटरसाइकलफेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । ३६ जनालाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारवाही गरिसकेको छ ।