काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन् ।
ओलीले आफ्नो सरकार ढाल्न भारत खुलेर लागिपरेको बताइरहेका बेला माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत सरकार ढाल्न सक्रिय भएको आरोप लगाएका थिए ।
‘सरकार गिराउन भारतीय राजदूत सक्रिय भए, अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्,’ उनले गरेको ट्विटमा भनिएको छ, ‘के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?’
स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन भन्दै उनले विगतका गल्तीबाट पाठ सिकेर विदेशी हस्तक्षेप नहुने राष्ट्रियता र प्रजातन्त्र विकासमा जोड दिएका छन् ।
‘पूर्वाग्रहबाट माथि उठौँ । विगतमा सबैबाट गल्ती भएका छन् । गल्तीबाट पाठ सिकौँ, आत्मालोचना गरौँ,’ सो ट्विटमा उनले भनेका छन्, ‘बाह्य हस्तक्षेपबिना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौँ । कसैले जित्ने, कसैले हार्ने होइन, सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौँ ।’
पुर्वाग्रहबाट माथी उठौं।विगतमा सबैबाट गल्ति भएका छन्।गल्तिबाट पाठ सिकौं,आत्मालोचना गरौं।बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं।कसैले जित्ने,कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।
— Kamal Thapa (@KTnepal) July 6, 2020