बिहीबारदेखि निरन्तर भएको वर्षाका कारण शुक्रबारमात्र विभिन्न जिल्लामा कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने ४४ जना बेपत्ता भएका छन् ।
बेपत्ताहरूको जीवितै उद्धार गरिने सम्भावना कम छ । जस कारण मृतकको सङ्ख्या बढ्ने अनुमान छ। घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या बन्दै आएको छ । पहाडमा पहिरो र तराईमा बाढीको कारण वर्षेनी सयाैँले ज्यान गुमाउने गरेका छन् । त्यसैगरी, हजारौँ घर परिवार घरबारविहीन बन्दै आएका छन् ।
तर, क्षति बेहोरेपछि मात्रै व्यवस्थापनमा जुट्ने सरकारी प्रवृत्तिकै कारण नेपालले यस वर्ष वर्षायामाको सुरुवात दिनमै ठुलो जनधनको क्षति बेर्होनुपरेको छ ।
वर्षेनी भइरहने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैँ चुक्ने सरकारले पूर्वतयारीसमेत गर्न सकेन नै, पीडितको घाउमा मलमसमेत लगाउन सकेको छैन ।
यही असारमा मात्र गुल्मी, पाल्पा, बझाङ, सिन्धुपाल्चोक, कास्की, म्याग्दी लमजुङ, रुकुम, जाजरकोटलगायत जिल्लामा पहिरोले आतंक मच्चाएको छ। शुक्रबार एकैदिन कम्तीमा २१ जनाले ज्यान गुमाएका छन् । बिहीबारसमेत केहीले ज्यान गुमाउनुका साथै धेरे बेपत्ता भए ।
म्याग्दीमा ३१ बेपत्ता, जीवितै उद्धारको सम्भावना कम
शुक्रबार पहिरो गएका स्थानमध्ये सबैभन्दा बढी म्याग्दीमा क्षति भएको छ । जहाँ ३१ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । हालसम्म ३ जनाको शव फेला परेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले जानकारी दिए ।
जिल्लाको धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको हो । उनले भने ‘बाँकी पुरिएकाहरूको उद्धारमा लागेका छौँ, पुरिएकाहरूको जीवितै उद्धार गरिने सम्भावना कम छ। ’
कास्कीमा सात जनाको ज्यान गयो
शुक्रबारै कास्कीमा पनि बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको छ । बर्सातका कारण ठाउँ ठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका १८ गोठादीमा पहिरोमा परी ६ जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् । यस्तै कास्कीको हेम्जामा एक घर पुरिएको छ । यस्तै पोखरा–२६ मा एक घर भत्किदा एक जना बेपत्ता छन् ।
लमजुङमा तीन जनाको ज्यान गयो
तनहुँको शुक्ल गण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् ।
यता लमजुङको बेसिसहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।
रुकुममा दुई जनाको ज्यान गयो, १२ बेपत्ता
रुकुमपश्चिममा पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ । आठबिसकोट नगरपालिकामा सो घटना भएको जनाइएको छ।
उता जाजरकोटको बारेकोट गाउँपालिका– ४ सार्की गाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकमा उद्धार जारी, बेपत्ताहरू जीवित भेटिने सम्भावना कम
बिहीबार बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर पुरिएका २० जनाको उद्धार हुँदै छ । पुरिएको ३४ घण्टा बित्दासमेत पुरिउका भेटिन सकेको छैन ।
बाढी पहिरो निरन्तर आइरहेकोले उद्धारमा समस्या भएको कांग्रेस नेता मोहनबहादुर बस्नेतले जानकारी दिए । ‘हिजोदेखि बेपत्ताको खोजीमा डोजर प्रयोग गरिएको छ, जनप्रतिनिधिसमेत लागिरहनुभएको छ, म अहिले काठमाडौँ फर्किएको छु,’ बस्नेतले भने ।
घटनामा दुई जनाको शव फेला परेको छ। घाइते ६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा २० घर पूर्ण रूपमा क्षति भएका छन् ।