काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ ।
वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरूको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरूमाझ पुर्याउने र सदस्यहरूमार्फत नागरिक मतदातालाई बुझाउन सके काँग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए । कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरू मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गरेका थिए ।
प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।
प्रतिष्ठानले यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नं ५ का महाधिवेशन प्रतिनिधिहरूलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ प्रशिक्षण तय भए पनि बन्दाबन्दीका कारण प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।