काठमाडौं । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बाँकेको नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्री नभएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्मका लागि नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू लगाउने निर्णय गरिएको नेपाल बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालगन्जमा बिहीबार मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिरी जिल्लाबाट आएर बसेका सात सरकारी कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।
बाहिरी जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसका अलवा क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।