सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक सार्वजनिक गरेका छन् ।
नेकपाका ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । पार्टीले निर्वाचनका बेला जनतामाझ सार्वजनिक गरेको घोषणापत्र र कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा विभाजनको दिशातिर गएको भन्दै ओली, दाहाल र नेपाल पक्षका सांसदले संयुक्त रूपमा एकताको दबाबका लागि हस्ताक्षर अभियान संचालन गरेका हुन् ।
सार्वजनिक हस्ताक्षर सांसदहरूले शीर्ष नेताहरूलाई बुझाउने तयारी पनि गरिरहेको सांसद गणेश पहाडीले जानकारी दिए । हस्ताक्षर अभियानमा सांसदहरू कृष्णप्रसाद दाहाल, यज्ञराज सुनुवार, सुरेश राई, झपट रावल, गणेश पहाडी, रामकुमारी झाँक्री, विशाल भट्टराई, नवराज सिलवाललगायत सांसद रहेका छन् ।
हस्ताक्षर अभियानमा रहेका सांसदहरूले विवाद समाधानका लागि सबै नेता एकजुट हुनुपर्ने बताउँदै आफूहरू विभाजनको विपक्षमा उभिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले स्थायित्व, विकास तथा समृद्धिका लागि पार्टी नेतृत्व एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा दबाब दिने बताएका छन् ।
'पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित' भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’