काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको निष्पक्षताविरुद्ध काम गरेको भन्दै पार्टीका नेताहरू असन्तुष्ट भएका छन् । महाधिवेशनको मुखमा धमाधम विभाग गठन गरेर महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् ।
१३औँ महाधिवेशन सकिएको दुई महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन सभापति देउवाले चार व्यतित भएपछि थपिएको कार्यकालमा धमाधम मनोनीत गरिरहेका छन् । यी विभाग २०७२ सालमै गठन हुनुपर्ने हो । तर, सभापति देउवाले ३० भन्दा बढी विभाग गठन गरिसकेका छन् । केन्द्रीय सदस्यले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै त्यसको विरोध गरेका छन् ।
विरोध जनाउने केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन् ।
उनीहरूले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकेपश्चात् विभिन्न नियुक्ति गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो ।’
अहिले गठन गरेका विभागले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ । ‘हामीले बनाएका विभागहरूले आफ्ना विभागीय काम कहिले गर्ने ? विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभाग खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनीहरूले भनेका छन् ।
यस्तो छ विज्ञप्ति
नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा छ । विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न हुन नसक्ने विशेष परिस्थिति देखिएमा मात्र उपयोग गर्न पाइने एक वर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय २०७७ फागुनभित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।
यस्तो समयमा पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेताबीच, नेता (कार्यकर्ताबीच र पुरानो एवं नयाँ पुस्ताबीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनुपर्ने दायित्व हामी सबैको हो ।
यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ। पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथीहरूका बीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसलापूर्ण महोत्सवको रुपमा निर्धारित समय तालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो । तथापि यस कार्यमा सभापतिकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ। इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुँदै छ।
संसारभरि अस्वीकृत अलोकतान्त्रिक विचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साँच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई विरक्तिएर बसेको छ। र समकालीन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ।
यस महाधिवेशनले सबै पक्षलाई आश्वस्त तुल्याउँदै उत्पन्न तनाव, र घृणाभावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो । यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ ।
यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथीहरूको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नुपर्छ। तर, दुर्भाग्यवश हामीलाई प्राप्त ऐतिहासिक विरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुँदै गएका छौँ ।
हामीप्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ। पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदै छ। हाम्रा प्रातः स्मरणीय नेताहरूले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौँ । र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकतातर्फ उन्मुख भएका छौँ। यसको जिम्मेदारी लिनु पर्छ। अहिले आएर सभापतिज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।
पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता पनि हो । कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ। कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो । सभापति व्यक्ति होइन, संस्था हो । उहाँसँग पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास,विरासत,परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन ।
अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरूलाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन। आफ्ना समकालीन साथीहरू र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत पनि छैन।
यसबाट गैरलोकतान्त्रिक शक्तिहरूसँग लोकतान्त्रिक मूल्य मान्यताको विषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ हामी यतिबेला पार्टिको बाह्रौँ महाधिवेशनपश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टीका विभाग गठन गर्दा वर्तमान पार्टी सभापतिज्युले राख्नुभएको तर्क र असहमतिलाई स्मरण गरिरहेका छौँ।
पदाधिकारी, समिति र विभाग गठनमा दुई वर्ष मात्र ढिलो हुँदा वर्तमान सभापतिज्यू कै असहमति र विरोधका कारण तत्कालीन निर्णय फिर्ता लिइयो अर्थात् कार्यान्वयन गरिएन । अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णय कसरी वैधानिक र उपयुक्त हुन सक्छन्? महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनुपर्ने होइन र ?
हामीले बनाएका विभागले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्ति गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो।
तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ। र गठन गरिएका औचित्यहीन विभाग खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ। यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।
यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रहसमेत गर्दछौँ। साथै, अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हरप्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिनसमेत तयार छौँ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ।
जय नेपाल
चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादव ।