प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुधवार परिपत्र गरेको हो ।
जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालयका सेवाहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न सरकारले परिपत्र गरेको छ । काठमाडौं उपत्यकालगायत देशभर कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन वृद्धि भएपछि सरकारले सबै क्षेत्रलाई परिपत्र गरेको हो । सरकारी तथा गैरसरकारी निकाय, बैङ्क, सहकारी, लघुवित्त संघसंस्थालगायत निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारले अनुरोध गरेको हो ।
सेवाग्राहीको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड– १९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सरकारले अनुरोध गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुधवार परिपत्र गरेको हो । परिपत्रमा बिहीबारदेखि कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने गरी सेवा दिन भनिएको छ । यस्तै अन्य कर्मचारीहरू सुरक्षित रूपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय पनि सरकारले गरेको छ । सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।
यस्तै, कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरू नगर्न–नगराउन सरकारले अनुरोध गरेको छ ।
बुधवार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित थप भएपछि सरकारको परिपत्र धेरैजसो संस्थाले पालना गर्ने तयारी गरेका छन् । ललितपुर महानगरपालिकाले २ सातासम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । काठमाडौं महानगरपालिकाले पनि आफ्नो सेवा केही समय स्थगन गर्ने तयारी गरेको छ । बैंक तथा वित्त संस्थाले समेत कर्मचारीहरू आलोपालो व्यवस्थापन गरेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उपत्यकामा थप १३८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । काठमाडौं उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेपछि त्रास फैलिएको छ ।