काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ ।
कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको स्राेतले जनाएकाे छ ।
गत शुक्रबार अध्यक्षद्वय केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउने गरी सहमतिको प्रस्ताव तयार गरिएको स्राेतकाे दाबी छ ।
पार्टी भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको अधिकार बाँडफाँड, अन्य नेताहरुको पदीय जिम्मेवारी, मन्त्रिपरिषद हेरफेर र सांगठानिक संरचना सम्बन्धमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।
त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलमा भएको सहमतिलाई सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा लगिने नेताहरुले बताएका छन् ।