काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई हुँने अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा एवं न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलगाउँदासम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाइएको थियो ।