मंसिर ०७, २०८१, शुक्रबार
               

बामदेव गौतमको फ्ल्यासब्याक : सत्ता, शक्ति र धनको भक्त

ADVERTISEMENT

बामदेव गौतम नेपाली राजनीतिका चतुर खेलाडी मात्र नभई सत्ता र शक्ति वरिपरी रमाउन रुचाउने माहिर पात्र समेत हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका बामदेव मात्र नेकपाका यस्ता अभागी नेता हुन्, जसले शीर्ष नेता माझ एकमात्र हरुवाको उपाधि पाए । तर, हारले पनि उनको शक्ति र सत्ता मोहलाई कहिल्यै कमजोर बनाउन सकेन । निर्वाचनमा उनी पराजित भए पनि उनको महत्वाकांक्षा भने विजयी हुँदै आयो । अनि बालुवाटार बसाइको सपना देख्न थाले ।

चुनावमा पराजय के व्यहोरेका थिए, उनी सत्तामा काबिज हुन आफ्ना लागि अर्को निर्वाचन क्षेत्रको खोजिमा लागे । 'पार्टीभित्र षड्यन्त्र गरेर आफूलाई पराजित गराउने समूहका सदस्यहरुलाई कडा कारबाही हुनुपर्ने' भन्दै उनले सचिवालय बैठकमा आवाज उठाइरहे । उनी अहिले एकोहोरो सुगा रटाइबाट आजित भएपछि अर्कै बाटो समातेर सांसद बने । प्रतिनिधि सभाका लागि बर्दियाका जनताले वामदेवलाई योग्य मानेनन् । तर नेपाली राजनीतिमा व्याप्त नैतिकताको अभाव उनीमा पनि देखियो । अनि चुनाव हारे पनि राष्ट्रपतिको टिका ग्रहण गर्दै उनी राष्ट्रिय सभाको गरिमामय सदस्य बनिछाडे । त्याे बेला जनताको म्यान्डेट मात्र 'हात्तीको देखाउने दाँत' बन्याे ।

बामदेव जनताको म्यान्डेट स्वीकार गर्ने नेतामा कहिल्यै गनिएनन् । जहिले पराजय व्यहाेरे, त्यो बेला आफूमाथि अन्तर्घात भएको भन्दै रुवाबासी गरिरहे । बर्दियाबाट हारेपछि उनले सांसद बन्न निकै सङ्घर्ष गर्नुपर्‍यो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोग नभएको भए यस पटक पनि उनी 'मच्याे-मच्यो थच्यो' भने झैँ हुन्थे । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमम्त्री केपी शर्मा ओलीलाई यस समयमा उनी सांसद भएको खासै हेर्ने चाहना थिएन ।

यस पटक आफ्नो जितमा गौतम मक्ख छन् । पराजय पीडाले सधैँ निन्याउरो देखिने उनको मुहारमा विजयको चमक छाएको छ । तर, जनताको भावनामा भने ठूलै ठेस पुगेको छ । सत्ता र शक्तिसामु जनमत निरीह बनेको छ । 'फूलमा मौरी' झैँ सधैँ सत्ता र चर्चाको वरिपरी बस्न रुचाउने बामदेवले चुनाव हारे पनि कहिल्यै पार्टी भित्र पहिचान र शक्ति गुमाएनन् । अब उनलाई ओलीले उपप्रधानमन्त्री बनाउलान् कि नबनाउलान् ? यस विषयमा सर्वोच्चमा परेको रिटको फैसलापछि मात्र भन्न सकिन्छ  ।

बामदेवले सधैँ चुनाव हारेका मात्र छैनन्, चुनाव जितेका पनि छन् । उनको चुनावी परीक्षामा तीन-तीन पटक हार र जित भएको छ । २०४८ र ०५१ सालमा भएको निर्वाचनमा उनी बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भए । २०५६ र ६४ सालमा सोही क्षेत्रबाट लगातार उनी पराजित भए । अनि उनी चुनाव जित्न गृह जिल्ला प्युठान जानुपर्याे । २०७० सालमा उनी प्युठान १ बाट निर्वाचित भए । अनि पछिल्लाे पटक २०७४ मङ्सिरमा उनी पराजित भए ।

उनी तीन पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । २०५३ सालमा, २०६५ सालमा र २०७० सालमा बामदेव सिंहदरबार छिरेका छन् ।



पावर र पैसाका भक्त

बामदेव आफ्नो निहित उद्देश्य प्राप्त गर्नका लागि जायज-नाजायज सबै काम गर्ने व्यक्तिमा गनिने केही राजनीतिज्ञहरु बताउँछन् । 'जसरी माछा पानी विना बाँच्न सक्दैन, त्यसैगरी बामदेवको स्वभाव सत्ता विना बाँच्न नसक्ने रहेको' उनका समकालीन नेता सिपी मैनाली बताउँछन् ।

‘महाकाली सन्धिपछि नेकपा एमाले विभाजन गरेका हामीले नै हौँ । तर चुनावमा हामीले हार बेहोर्‍यौं । हामी हारेको पार्टीले सत्तामा जान नसक्ने भएकाले बामदेवजी हामीलाई धोका दिएर २०५८ मा फेरि एमालेमा फर्किनुभयो’ नेकपा मालेका महासचिव सिपी मैनाली भन्छन् ।

राजनीतिमा ‘पावर र पैसा’ राम्ररी बुझेका बामदेवले त्यही शक्ति र धन कमाउने मार्गको रुपमा सांसद बन्ने चोर बाटो प्रयोग गरेको उनलाई नजिकबाट चिन्ने नेताहरूको तर्क छ ।

‘बामदेव  सत्ता, शक्ति र धनको भक्त हुन् । आफ्नो व्यक्तिगत स्वार्थको लागी नीति र विचार बनाउने अनि त्यही प्राप्तिको लागी जायज नाजायज जुनसुकै हर्कत समेत गर्न पछि नपर्ने चरित्रको मान्छे हुन्, आफूलाई स्वार्थ पुरा गराउने सर्तमा अरूसँग सम्झौता गर्छन्,’  मैनाली भन्छन् ‘स्वार्थ पुरा नभए उनी फेरी अर्को कित्तामा जान्छन्, यसैले पनि उनी धेरैको उपयोगको पात्र बन्दै आएका छन् ।’

सत्तामुखी चिन्तनले स्वार्थ उपयोगको पात्र

पछिल्लो घटना सत्तामुखी चरित्रमा बामदेवको निरन्तरता रहेको नेकपाकै नेताहरू बताउँछन् । नेकपाका केन्द्रीय सदस्य आरके मैनाली भन्छन् ‘महाकाली सन्धि राष्ट्रघाती रहेको भन्दै हामीले संयुक्त रुपमा विरोध गरेका थियौँ, त्यसको भण्डाफोर गर्न भन्दै पार्टी विभाजनमा समेत उनको ठूलो भूमिका थियो । केही समय राष्ट्रवादी देखिए । तर सत्ता मोह जाग्दै गएको रहेछ । राष्ट्रवादबाट सत्ता प्राप्ति नहुने भएपछि उनले आफ्नो अडान बिर्सिए ।’

सत्ता र शक्तिको लालसा बामदेवको कमजोरी भएकै कारण उनलाई पार्टीका धेरै नेताले प्रयोग गरेको छन् । पार्टीभित्र कुशल संघठक मानिए पनि बामदेवले आफ्नो गुटका मानिसहरूलाई साथमा राख्न सकेनन् । 'सत्ताको लोभ देखाएर कहिले ओलीले कहिले ओली इतर समूहले उनलाई भकुन्डो बनाएको' आरके मैनाली बताउँछन् ।

उनी भन्छन् ‘सत्ता प्राप्तिका लागि बामदेव जता पनि लाग्छन् । ओली, प्रचण्ड, माधव नेपाल समूहमा नजिकिन्छन्, सत्तामुखी चिन्तनको चरित्र भएकै कारणले पछिल्लो पटक उहाँ सबैको स्वार्थ उपयोगको पत्र बन्ने गरेको देखिन्छ ।’

वामदेवको विगत

०४६ को जनआन्दोलनको सफलतापछि सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत पायो । ०४८ मा काँग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । तर संसद् अधिवेशन सुरु हुने बित्तिकै तत्कालीन एमालेले आन्दोलनको ज्वारभाटा उराल्यो ।

बामदेवलाई नजिकबाट बुझ्नेहरू भन्छन् ‘सत्तामा नगएसम्म केही हुनेवाला छैन । भन्ने सोच बामदेवमा थियो । तर काँग्रेसको बहुमतको सरकार भएकाले सत्ता हत्याउने अनुकुल अवस्था थिएन । तर पनि उनी भने निरन्तर सत्ता प्राप्त गर्ने अभियानमा लागेका थिए ।’

त्यति बेला काँग्रेस भित्रको छत्तिसे र चौहत्तरे समुहलाई मलजल गर्ने काम बामदेवले नै गरेका थिए । काँग्रेस भित्रको असन्तुष्ट छत्तिसे समूहलाई उचाल्ने र सकेको सहयोग गर्ने काम बामदेवमार्फत एमालेले गरेको थियो । त्यसैको बलमा संसदमा पेस भएको सरकारको नीति तथा कार्यक्रम असफल भयो । अन्ततः गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरे ।

बामदेवको सपना पूरा भयो । उनी त्यही चाहन्थे । मध्यावधि चुनाव भयो । एकातिर काँग्रेसभित्रको विभाजन र अर्कोतर्फ बहुमतको सदुपयोग गर्न नसकेर मध्यावधि निर्वाचन गर्ने काँग्रेसको असक्षमताका कारण काँग्रेस पराजित भयो ।

काँग्रेसको हारपछि सबैभन्दा ठूलो पार्टीका रुपमा एमाले उदायो । त्यसपछि पहिलो पटक कम्युनिस्ट सरकार बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार गठन गर्याे । पार्टी महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री बने । बामदेव सरकारमा जान पाएनन् । महासचिव नेपाल सरकारमा गएपछि वामदेवले कार्यवाहक महासचिवको जिम्मेवारी पाए ।

फाइल फोटो

त्यो अवसरले बामदेव एमालेभित्र मात्र नभई बाहिरसमेत शक्तिकेन्द्र बने । तत्कालीन एमाले अहिलेको नेकपा जस्तो एकलौटी निर्णयमा चल्दैन थियो । पार्टी निर्णय अनुसार मात्र चल्थ्यो । अर्थात् कार्यवाहक महासचिव बामदेवले जे निर्णय गराउँथे, त्यही हुन्थ्यो । तत्कालीन राजनीतिक घटनालाई नजिकबाट नियाल्नेहरू भन्छन् ‘मनमोहन त देखावटी कार्यकारी मात्र थिए । वास्तविक कार्यकारीको भूमिकामा बामदेव पुगे । काँग्रेसले एमालेविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने कारक नै उनी थिए ।’

लगतै मनमोहनले संसद् विघटन गरे । तर संसद विघटनलाई संविधान विपरित मान्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापित गरिदियो । त्यो घटनाले आक्रोशित एमालेले सडक आन्दोलन गर्‍यो, जुन बामदेवकै नेतृत्वमा भएको थियो ।

सर्वोच्चको फैसलापछि काँग्रेसले सरकार बनायो । प्रधानमन्त्री बने, शेरबहादुर देउवा । उनको नेतृत्वको सरकार गिराउन पनि अनेकौँ खेल रचियो । त्यसमाथि पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्री बन्ने चाहना बढ्दो थियो । त्यसको फाइदा भने फरक दला नेता बामदेवले उठाए ।

देउवा विरुद्धको अविश्वास प्रस्तावका बेला दुई जना काँग्रेसी सांसदलाई अनुपस्थित गराइयो । यो काम गर्न एमालेले बामदेवमार्फत करोडौँ रुपैयाँ लगानी गरेको चर्चा अझै पनि चल्ने गरेको छ । नेपालको संसदीय इतिहासमा सांसद खरिद-बिक्रीको सुरुवात त्यही दिनबाट भएको मानिन्छ । बामदेवका समकालीन नेताहरू खुलेरै टिप्पणी गर्छन् ‘सांसदलाई भेँडा बाख्रा जस्तो थुन्ने, सांसद लुकाउन बैंकक लैजाने संस्कार बामदेवले नै सुरु गरे ।’

सत्ता र शक्ति मोहकै कारण नेपाली राजनीतिमा षड्यन्त्रका बिउ रोप्ने अनि नेपाली राजनीतिलाई बिहारीकरण गर्ने पहिलो काम उनैले गरे । बामदेवले गृहमन्त्री भएपछि प्रहरी प्रशासनमा राजनीतिकरण गर्ने पहिलो नेताको श्रेय पनि कमाएका छन् ।

त्यति मात्र होइन सरकारमा जानकै लागी उनले पार्टी विभाजन गरे । बामदेवले सहाना प्रधान, सिपी मैनाली र आरके मैनाली जस्ता नेतालाई साथमा लिए । नेकपा एमाले विभाजन गरे । नेकपा माले गठन गर्दै उनी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा शक्तिशाली मन्त्री बने ।

उनी सरकारमै छँदा ०५६ सालमा आम निर्वाचन भयो । नेपाली काँग्रेसले फेरि बहुमत पायो । एमाले दोस्रो शक्ति बन्यो । तर बामदेवको मालेले एक सिट पनि जित्न सकेन । पार्टीले कतै पनि चुनाव जित्न नसकेपछि बामदेव छटपटिए । उनी छटपटिनुको एक मात्र कारण थियो ‘सत्तामा जान नपाउनु ।’

विगतमा सत्ता प्राप्तिकै लागी जुन घर फुटाएका थिए, उनी सत्ता मोहकै कारण त्यसैमा समाहित भए । सत्ताको महत्त्वाकाङ्क्षा अझै चुलिएपछि बामदेव एमालेमै प्रवेश गरे ।

पछिल्लो पटक त संविधान नै संशोधन गराएर राष्ट्रिय सभाको सदस्य समेत प्रधानमन्त्री बन्न पाउने व्यवस्था गराउन उनी कम्मर कसेर लागेका थिए । त्यसमा उनी असफल भए । अहिले कुनै शक्तिशाली मन्त्रालय हाँक्ने योजनासहित उनी सांसद बनेका छन् ।

बामदेवको कहिल्यै नमर्ने सत्ताकाे भोकलाई सर्वोच्च अदालतले कसरी व्याख्या गर्छ, त्यसले नेकपाको राजनीतिलाई फेरि एक पटक तरंगित भने अवश्य पार्ने छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि