काठमाडौं । कोरोनाका कारण नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका बारा आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौंको काठमाडौं नर्भिक अस्पताल लैजाँदै गर्दा आइतबार मृत्यु भएको हो ।
नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवका अनुसार श्वास प्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा तीन दिनदेखि उनी भर्ना भएका थिए । ‘कोरोनाको आशंका लागेर शनिबार पिसिआर परीक्षण गराउन नारायणी अस्पताल लगिएको थियो, रिपोर्ट पोजेटिभ नै आयो,’उनले भने, ‘त्यसपछि उपचारका लागि नर्भिक लैजाँदा बाटोमा नै निधन भयो ।’
वीरगञ्जको नारायणी अस्पतालमा उनमा कोरोना पुष्टि भएको थियो ।
उनी उच्च रक्तचापका कारण पीडित पनि थए । नारायणी अस्पतालमा पुग्दा उनमा कोभिड संक्रमणका कारण खोकी लाग्ने र सास लिन गाह्रो भइरको एक डाक्टरले जानकारी दिए ।
महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।