मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीका तीन आफ्ठ्यारा, जसले अध्यादेश फिर्ता गर्ने बाटोमा पुर्‍यायो

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप सङ्कटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह मध्यान्तरमा पुगेको छ । तत्काल विवाद साम्य भए पनि अन्त्य भने भइसकेको छैन । 

बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ओलीइतर पक्षले संसद् अधिवेशनको माग गर्दै प्रक्रियामा लगिएको समावेदन पनि रोकिएको थियो ।

तर, बुधबार अध्यादेश फिर्ता गर्ने सहमति जनाएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: बिहीबार साँझका लागि संवैधानिक परिषद् बैठक बोलाए । तर, कार्यकारी अध्यक्षको दर्जा पाएका पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि ओलीले परिषद् बैठक स्थगित गरेका छन् ।

नेकपाका नेता प्रधानमन्त्री ओली आफ्नो र राष्ट्रपतिको समेत ‘फेस–सेभिङ’ हुने गरी सहमति चाहन्छन् । यसकारण उनले अध्यादेश फिर्ता लिने सहमति गरे पनि कार्यान्वयन गरेका छैनन् । 

प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट हुँदै आएका पक्षहरूबीच भदौ १६ मा सहमति भएको थियो । प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालन गर्न असक्षम भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले  आरोप लगाएको थियो । त्यस आरोपमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको पनि साथ थियो ।

उनीहरूले कात्तिक २२ गतेदेखि नै पार्टी बैठकको माग गरेका थिए । तर, ओलीले आफूविरुद्ध नेता खनिने थाहा पाएपछि बैठक बोलाउन मानेनन् । प्रचण्डको नेतृत्वमा सचिवालयका पाँच जना सदस्यको बैठक बस्यो । र सचिवालय बैठक बोलाउन लिखित पत्र दिए । सोहीअनुसार ओलीले बैठक कात्तिक २८ डाके । सोही बैठकमा प्रचण्डसहित पाँचै नेताको निष्कर्ष समेटिएको १९ पृष्ठको राजनीतिक प्रतिवेदनलाई प्रचण्डले बैठकमा पेस गरे । राजनीतिक प्रतिवेदन आफूविरुद्धको आरोपपत्र भएको भन्दै ओलीले जवाफी प्रतिवेदन ल्याए ।

आन्तरिक खिचातानी चलिरहेकै बेलामा मङ्गलबार बिहान प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएलगत्तै ओलीले सो अध्यादेश ल्याए । जसको पार्टीभित्र र बाहिरसमेत चर्को आलोचना भयो ।

अन्ततः बुधबार अपराह्न ओली अध्यादेश फिर्ता लिन बाध्य भए । बिहीबार संवैधानिक परिषद्को बैठक बोलाए पनि प्रचण्डसँगको छलफलपछि उनी गले । आफ्नै अडानबाट आफैँ गल्दै अध्यादेश फिर्ता लिने स्थितिमा ओली पुग्नुका तीन प्रमुख कारण रहेको जानकारहरूको तर्क छ।

असफल तुरुपको पुनः प्रयोग

पार्टीभित्र र बाहिरका विपक्षीलाई माथ दिन ओलीले यसअघि पनि अध्यादेशको तुरुप प्रयोग गरेका थिए । गत वैशाखमा  उनले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएका थिए। तर, त्यसबेला उनले तीन दिनपछि अध्यादेश फिर्ता गर्नुपरेको थियो । अर्थात् उनको अध्यादेशको तुरुप असफलसिद्ध भइसकेको थियो ।

तर, यसपटक ओलीले त्यही गल्ती दोहोर्‍याए । जसले बहुमतबाट निर्णय गर्ने उपयुक्त मौका कुरेर बसेका प्रचण्ड–नेपाल पक्षीय नेताहरूलाई राम्रो मौका दियो । पार्टीभित्रबाट उनलाई दुवै पदमा बस्ने नैतिक अधिकार नभएको आवाज चर्कियो । विपक्षी दलले पनि उनले सर्वसत्तावादी व्यवहार देखाएको भन्दै चर्को विरोध गर्‍यो । ओली एक्ला देखिए । पार्टीभित्र उनकै पक्षका नेताले खुलेआम ओलीको बचाउ गर्न सकेनन् । त्यसपछि उनी पछि हट्न बाध्य भए ।

संसदीय दलमा पनि अल्पमत

प्रतिनिधिसभामा नेकपाका १७४ सदस्य छन् भने राष्ट्रियसभामा ५० छन् । ओलीले नेकपा संसदीय दलको नेतामा कायम रहन प्रतिनिधिसभाका कम्तीमा ८८ र राष्ट्रियसभामा २६ सांसदको विश्वास लिनुपर्ने हुन्छ । पार्टीका हरेक कमिटीमा ओली अल्पमतमा छन् ।

सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रचण्ड–नेपाल पक्ष प्रस्ट बहुमतमा छ । त्यही स्थिति संसदीय दलमा छ। ओली पक्षमा अहिले ७८ जना सांसद छन् । प्रचण्ड पक्षमा ५३ र नेता नेपाल पक्षमा ४३ जना सांसद छन् । यसरी आफ्नो पक्षमा ४४ प्रतिशत मात्रै सांसद भएपछि ओली अध्यादेशबाट पछि हट्न बाध्य भए ।

सर्वोच्चमा मुद्दा, प्रधानन्यायाधीश नै सङ्कटमा

मङ्सिर ३० गतेको संवैधानिक परिषद्को बैठकमासभामुख सापकोटा सहभागी नभएपछि ओलीले झोक फेर्न अध्यादेश ल्याएका थिए । अध्यादेशअनुसार ओलीबाहेक दुई सदस्य मात्र उपस्थित हुँदा पनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने भयो ।

तर, अध्यादेश आएलगत्तै बुधबार त्यसविरुद्ध सर्वोच्चमा मुद्दा दायर भयो । मुद्दा दायर भएपछि दोहोरो पदीय जिम्मेवारीका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संवैधानिक परिषद्को अबको बैठकमा उपस्थित हुन नमिल्ने भएको छ । संवैधानिक परिषद्का पदेन सदस्य रहेका उनले सर्वोच्च अदालतमा संवैधानिक इजलासको नेतृत्व गर्छन् ।

संवैधानिक परिषद्को वैधतामाथि प्रश्न उठाई दर्ता गरिएको रिट अब उनैको नेतृत्वमा गठन हुने संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने हुन्छ । संवैधानिक परिषद्मा गएर निर्णयमा सही धस्काउने र फेरि संवैधानिक इजलासमा बसेर अध्यादेशअनुसार सञ्चालित संवैधानिक परिषद्को निर्णय संविधानसम्मत हुन्छ कि हुँदैन भनेर आफैँले इजलासको सुनुवाइ गर्न कठिन हुनेछ । यसकारण पनि ओली अध्यादेशबाट ब्याक भएको देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि