मंसिर ०७, २०८१, शुक्रबार
               

निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग

नेपाल फ्ल्यास
पुस २७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन् ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो ।

सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ ।

नेकपाको प्रचण्ड–नेपाल पक्षको आइतबार बसेको सचिवालय बैठकले पनि निर्वाचनको गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेर नयाँ निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

अहिले प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षले आआफ्ना गतिविधि अघि बढाइरहेका छन् । प्रचण्ड–नेपाल पक्षका मन्त्रीले संसद् विघटनसँगै राजीनामा दिएका थिए ।

आयोगमा चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् ।

निर्वाचन आयोगले त्यसको निरुपण प्रक्रिया थाले पनि टुंगिसकेको छैन । यस्तो अवस्थामा निर्वाचनको प्रक्रिया थाल्नु नहुने प्रचण्ड–नेपाल पक्षको भनाइ छ 


कस्तो लाग्यो ?

यो पनि