पाल्पा । मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् । उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क गरे ।
युवा संघ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा शनिबार आयोजित भेलामा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दो अवस्था भएको बताए ।
पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले युवाले अग्रगामी सोचका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य सुजिता शाक्य, जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण आचार्य, युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेललगायतले ओली नेतृत्वको सरकारले संसद् विघटन गरी ताजा जनादेशमा जानु सही कदम भएको दाबी गरे ।