लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किएका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र लिन उनी केही दिनअघि गएका थिए ।
राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र लिने कार्यक्रममा राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिककालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
मन्त्री मानन्धरले गत पुस १० गते लगातार चार घण्टा पाँच मिनेट २० सेकेन्ड गीत प्रस्तुत गरेका थिए । प्रमाणपत्र लिन दिल्ली पुगेका मन्त्री मानन्धर र त्यहाँका विभिन्न क्षेत्रका प्रतिनिधिबीच अनौपचारिक छलफलसमेत भएको थियो । दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको थियो ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलगायतसँग मन्त्री मानन्धरले नेपाल भारत द्विपक्षीय सबन्धलगायत विषयमा छलफल गरेका थिए । केही साताअघि भारतले नेपाललाई कोभिड– १९ को महामारीसँग जुझ्न १० लाख डोज खोप सहयोग उपलब्ध गराएको थियो । छलफलका क्रममा राज्यमन्त्री मानन्धरले सो सहयोगका लागि धन्यवाद थिए ।
अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्रसहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो । त्यसपछि दुवै देशबीच कूटनीतिकस्तरमा चिसोपन देखा परेको थियो । उक्त विवादपछि भारततर्फबाट त्यहाँका बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्रसचिवले नेपालको भ्रमण गरेका छन् ।
त्यसपछि लामो समयपछि नेपालको तर्फबाट पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण गरेका थिए । सो भ्रमण नै नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो । त्यसलगतै राज्यमन्त्री मानन्धरले अनौपचारिक भ्रमण गरेका हुन् ।