मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीको फाष्टट्रयाक निर्णयपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग !

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन केन्द्रीय समितिका दुई वटा बैठक राखेर महत्त्वपूर्ण निर्णय गराए । केन्द्रीय कमिटी बैठकले माओवादी छोडेका नेताहरूलाई एमालेमा समाहित गर्ने तथा जिम्मेवारी दिने निर्णयका साथै माधवकुमार नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गराए ।

यो निर्णयसँग नेपाली राजनीति र मुख्यत एमालेभित्र नयाँ तरंग पैदा भएको छ । स्वाभाविक रूपमा ओली बलियो भएका छन् भने उनी इतरका नेताहरू निरीह !

आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट पार्टीको दसौँ महाधिवेशन तोक्नेदेखि निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्नेसम्मको निर्णय लिएपछि यसले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूलाई जानकारी नै नदिई ओलीले केन्द्रीय समितिको दसौँ बैठक राखेका थिए । सो बैठकले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गर्‍यो ।

त्यसलगत्तै माओवादी केन्द्रबाट थप गरिएकाहरूलाई समेत सहभागी गराएर केन्द्रीय समितिको एघारौँ बैठक राखे । एमालेको पदाधिकारीमा नेपाल पक्षको बहुमत थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो । आगामी मङ्सिरमा महाधिवेशन गर्ने निर्णय भएकाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइएको ओली पक्षको दाबी छ।

ओलीले एकलौटी रूपमा नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल पक्षले प्रतिकार गर्ने चेतावनी दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल पक्षले एमालेमा विद्रोह गर्ने बताइरहँदा यता नेपाल पक्ष पनि सोही रणनीतिमै छ ।

उसले पार्टीको राष्ट्रिय भेला बोलाएको छ । त्यसमा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, जनसङ्गठनका पदाधिकारी र जनसङ्गठनका जिल्ला अध्यक्षहरू सहभागी हुने नेता बेदुराम भुसालले बताए । ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरूलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रूपमा सो पक्षका स्थायी समिति सदस्यहरूको बैठक बसेको थियो ।

उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भनेका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’ यो उनको आधिकारिक धारणा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।

वाम विश्लेषक हरि रोका भने ओली पार्टीमा झन् शक्तिशाली भएको टिप्पणी गर्छन् । नेकपा खारेज गरी पुरानै पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) पुनर्स्थापित गर्ने फैसला भएको हप्ता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली एमालेको ‘राजा’का रूपमा प्रकट भएको उनको विश्लेषण छ । पार्टीको एकल प्राधिकार, विधान पद्धतिभन्दा माथि केही दिन उनी रहिरहे संविधानमाथि एकल विजय प्राप्त गरेको घोषणा सुन्न पाइने उनको तर्क छ ।  

‘अदालतको पछिल्ला फैसला सर्वसत्तावाद मलजल गर्ने दिसामा परिणत भएछ, हेर्न धेरै पर्खनु परेन,’ ओलीले धमाधम आफ्ना विरोधीलाई ‘बाइपास’ गर्ने निर्णय गरिरहेका बेला शुक्रबार साँझ रोकाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फैसलाको हप्ता नबित्दै ओली पुनर्स्थापित एमालेको ‘राजा’ बन्ने छन् ।’


कस्तो लाग्यो ?

यो पनि