नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै माधव–झलनाथ पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) बस्दैछ । बानेश्वरको एक होटलमा छलफलका लागि बोलाइएकाे एक नेताले बताए ।
केपी ओलीकाे कदमविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको माधवनिटक स्रोतले जानकारी दिएको छ । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल–खनाल समूह आक्रोशित बनेका छन् ।
शुक्रबार नै ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद हटाउने र प्रदेशको नेतृत्व हेरफेर गरेकाे थियो । बैठकपछि पार्टीलाई ओलीले विसर्जनतिर लगेको भन्दै जिल्ला तहदेखि नै समानान्तर कमिटी गठन गरिने निर्णय भएको नेपाल–खनाल पक्षका नेताले जानकारी दिएका छन् ।
ओलीले पार्टी विधिविधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी निर्माणका लागि वर्षौ रगत–पसिना बगाएका नेता–कार्यकर्ताहरूमाथि अपमान गरेको नेपाल–खनाल समूहको निचोड छ ।