काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेमा गुट सुरू गर्ने काम केपी ओलीबाट भएको बताएका छन् । उनले भने, “यो पार्टीमा गुट सुरु गर्ने केपी ओली हुन् । मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै हो गुट सुरू गरेको ।”
साथै केपी ओलीकाे सरकारले भ्रष्टाचार नियनत्रणका ठूला भाषण गर्दै हिडे पनि आफैँ भ्रष्टचारीकाे संरक्षक रहेकाे समेत आरोप लगाए । उनले आज ललितपुरमा भएकाे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । उनले महत्वपूर्ण जिम्मेवारीहरूमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरूलाई मात्रै नियुक्त गरेको खनालको आरोप छ ।
प्रधानमन्त्री ओलीले विवादस्पद विधेयक ल्याएको र ती विधेयक ल्याउँदा पार्टीसँग कुनै सल्लाह नगरेको खनालले स्पष्ट पारे । उनले पछिल्लो समय प्रधानमन्त्री ओलीले बैठकहरुसमेत नराखेको गुनासो पोखे । उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको सुनाए ।
हिजो ओली पक्षले खनाल-नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेकाे छ ।