नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशनविपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए ।
उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए । पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरूलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरूलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए ।