मंसिर ०७, २०८१, शुक्रबार
               

गुट बैठक गर्ने र जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

गुटगत भेला आयोजना गर्ने र सहभागी हुने नेताहरूलाई कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गर्दै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरू कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

अन्यथा विधानअनुसार स्पष्टीकरण सोधिने र कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन पनि गरेको छ । पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओली समूहको आह्वानमा बिहीबार एमाले संसदीय दलको बैठक बालुवाटारमा बसेको हो ।

बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । सो बोर्ड २७ सदस्यीय हुनेछ । अहिले २४ सदस्य रहेको बोर्डमा तीनजना पछि थपिनेछन् । विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तमाङ र विमला राई रहने निर्णय गरी आउँदो शनिबार (चैत ७ गते) पुनः बस्ने गरी बैठक सकिएको सांसदहरूले बताए ।

बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसद सहभागी भएनन् । ललितपुरको सानेपामा रहेको एक होटेलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनी आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।

तर, ओलीको बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भए । यस्तै, नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसैन, विष्णु शर्मालगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसद बालुवाटार बैठकमा सामेल भए ।


कस्तो लाग्यो ?

यो पनि