नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले विदेशी ऋण तिर्न नसक्ने गरी लिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा खाँणले वर्तमान सरकार ऋण लिएर घिउ खुवाउने सरकार भएको टिप्पणी गरे ।
‘ऋण लिएर घिउ खुवाउने सरकार हो यो । योभन्दा अघि कहिले यसरी विदेशबाट ऋण लिएकै थिएन ।’
ऋण तिर्नेबेला अर्को सरकार आउँछ त्यसैले तिर्छ भन्ने भएर नै सरकारले विदेशी ऋण बढाएको उनको भनाइ थियो । ‘चालू खर्च बढेको छ । पुँजीगत खर्च सरकारले गर्न सकेको छैन। विकास कसरी चुचुरोमा पुग्यो,’ उनले सरकारलाई प्रश्न गरे ।
खाँडले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाए । संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी उनले सोधेका हुन् ।
‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौँ र संविधानको पालना गर्छौँ भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनले सोधे ।
संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खाँडले बताए । ‘संविधान बनेकै दिनदेखि विचार अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार सुरु गरेको छ,’ उनले भने ।