काठमाडौं । राष्ट्रिय भेला भएको भोलिपल्ट शुक्रबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक सकिएको छ ।
राष्ट्रिय भेला कार्यक्रम सकिएको भोलिपल्ट तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार संसदीय दलको बैठक बोलाएसँगै शुक्रबार साँझ साढे पाँच बजेबाट बसेको सो समूहको स्थायी कमिटी बैठक केहीबेर अघि मात्रै सकिएको हो ।
सो बैठकले विगतमा संसदीय दलको बैठक, दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको निष्कर्ष निकालेको छ ।
नेपाल-खनाल समूको स्थायी कमिटीका बैठका निर्णय यस्ता छन्,
१. विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने ।
२. केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।