मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री र सभामुखको द्वन्द्वले पुनर्जीवित सांसदले बिजनेस पाएन
कांग्रेस भन्छ, ‘सरकारले सदन बन्धक बनायो ’

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाको द्वन्द्वले पुनर्जीवित सांसदले बिजनेस पाउन सकेको छैन । एक मात्र बैठकबाट पास हुनसक्ने विधेयकसमेत प्रधानमन्त्री र सभामुखकै द्वन्द्वमा फसेको छ । 

५पुसमा सरकारले विघटन गरेको प्रतिनिधिसभा ११ फागुनमा सर्वोच्च अदालतले ब्यूँत्याइदियो । यसबीचमा तीनवटा बैठक बसे पनि कुनै विधेयक अगाडि बढ्न सकिरहेका छैनन् । प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रतिनिधिसभा समितिमा अहिले  १० वटा विधेयक छलफलमा छन् । तर, सरकारले विधेयक अगाडि बढाउन चाहिरहेको देखिँदैन । 

नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा कानुनी रूपमा बहुमतमा छन् । उनलाई नेकपा माओवादी केन्द्रको समेत समर्थन छ। तर, कुनै पनि विधेयक पेस भएको अवस्थामा निर्माणार्थ पेस हुँदा बहुमत नपुग्ने अवस्था छ । किनकि एमालेभित्रै माधवकुमार नेपाल पक्ष ओलीको विपक्षमा छ । सरकार छाड्ने निर्णय गरेको माओवादी सरकारका विधेयकलाई साथ दिने/नदिनेमा स्पष्ट छैन । यस्तोमा प्रतिनिधिसभामा अल्पमतमा पर्ने डर सरकारमाथि छ । 

अर्कोतर्फ सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री ओलीको द्वन्द्वले संसद बैठक शोक प्रस्ताव पारित गरेर मात्रै टुंगिन थालेको छ । फागुन २३ गते र चैत ३ गते बैठक बसेयता प्रतिनिधिसभाबाट कुनै पनि काम भएका छैनन् । सरकारले भने संसद अगाडि नबढ्नुको दोष सभामुख अग्नि सापकोटालाई लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्ना पार्टीका सांसदसँगको चियापानमा सभामुखलाई ‘सेटिङ’मा चलेको आरोप लगाएका छन् ।  

प्रतिनिधिसभाको फागुन २३ गतेको बैठकमा सरकारले ल्याएका आठमध्ये सात अध्यादेश पेस हुन पाएका थिएनन् । कानुनमन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्को काम कर्तव्यसम्बन्धी अध्यादेश पेस गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बेल घेराउ गरेको थियो । लगत्तै सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटा संवैधानिक दायित्व पालना नगरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्रीसँग छलफलको तयारी

प्रधानमन्त्री ओलीको आरोपबारे भने सभामुख सापकोटा मौन छन् । सापकोटाले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताए ।

‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला,’ पत्रकारहरूसँगको भेटका क्रममा सभामुख सापकोटाले भने ।

फागुन २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको अहिलेसम्म तीनवटा बैठक बसेका छन् । तर, बैठकमा अहिलेसम्म सांसदहरूले बोल्न समय पाएका छैनन्।  सभामुख सापकोटा माओवादी केन्द्रबाट सांसद बनेका हुन् भने उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ निकटका हुन् । प्रधानमन्त्री ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नभएपछि उनको प्रधानमन्त्री ओलीसँग सम्बन्ध राम्रो छैन ।

संवैधानिक परिषदमा अनुपस्थित सापकोटाले संवैधानिक परिषद्को नियुक्ति नेकपाको झगडा फरक–फरक दलमा पुगेर टुंगिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘टसल’ संसद बैठकमा पर्न थालेको छ । 

सरकारले सदन बन्धक बनाएको आरोप

यता विपक्षी दल नेपाली कांग्रेसले पनि सरकारले बिजनेस नदिएर सदनलाई बन्धक बनाएको आरोप लगाएको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल सांसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताउँछन् । 

उनी भन्छन् ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन। उहाँहरूले आजको बैठकमा हेर्दा खेरी सरकारले, सत्ता पक्षले अहिलेसम्म कुनै पनि बिजनेस नै दिएको छैन । अध्यादेशमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकुल रहेको कारणले हामीले विरोध जनाएको हो । त्यसमा हामीले विरोधको सूचना पनि दर्ता गरिसकेको छौँ । तर अरू अध्यादेश वास्तवमा सदन चलेको भए सदनबाटै अध्यादेशको रुपमा आएका छन् त्यसलाई परिष्कृत गरेर, परिमार्जित गरेर अगाडि बढाउनुपर्ने ठाउँमा ती अध्यादेशलाई अगाडि बढाउने बारेमा पनि सरकार गम्भीर छैन। भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेस गरेको छैन । कुनै कार्यसूची छैन ।’


कस्तो लाग्यो ?

यो पनि