मंसिर ०७, २०८१, शुक्रबार
               

पार्टी नफुटाइ ओलीलाई गलाउने नेपालको रणनीति

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

संस्थापन पक्षले स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अघि बढाउने भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने रणनीति बनाएको छ । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक छलफलले लडाइँमा मैदानमा डटेर लाग्ने रणनीति अख्तियार गर्ने नीति बनाएका हुन् । 

एमाले केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टीविरोधी गतिविधि गरेको भन्दै नेता नेपालसहित उनी पक्षका नेतालाई स्पष्टीकरण सोधेको छ । नेपालसहित  भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, नेपाल पक्षले भने ओली पक्षसँग संघर्ष गर्ने  र विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नहुने भन्दै कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटी बनाउने क्रम बढेको छ । नेपाल पक्षले मंगलबार पनि आफूनिकट अनेरास्ववियुको राष्ट्रिय भेला गरेको छ । 

भेलालाई सम्बोधन गर्दै नेता नेपालले कुनै पनि काममा सफलता पाउन इमान्दारिता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहे पनि अध्यक्ष ओली त्यसविपरीत हिँडेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए । ‘केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ ।

उनी कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौँ, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी ओली हुन्,’ नेपालको दावी छ ।

उनले आफ्नो पक्ष र केपी ओलीबीच खराब र असल छुट्याउन आग्रह गरे ।  उनले केपी ओलीले खराव कुरा मात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।

‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही छ । केपी ओलीले विद्यार्थीले पढ्नुहुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौँ’, नेता नेपालले भने, ‘ फरक भनेकै यही हो ।’


कस्तो लाग्यो ?

यो पनि