काठमाडौं । नेकपा (एमाले) मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारआयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।
प्रधानमन्त्रीले स्वागतपश्चात पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत हुन् ।
लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि छन् । यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले उनको पार्टी एमालेमा प्रवेश गरेको बताए
। ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने । केही दिन अघिमात्र किशोर प्रधानको नेतृत्वमा १०० भन्दा बढी उद्योग व्यवसायी एमालेमा प्रवेश गरेका थिए ।