नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले सार्वजनिक रूपमै स्पष्टीकरणको जवाफ दिने भएको छ । पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ सार्वजनिक रूपमै दिने भएका हुन् ।
स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अनौपचारिक छलफल गरिरहेका छन् । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।
‘हामीले जवाफ पार्टीलाई बुझाउँदैर्नौं, सार्वजनिकरूपमौ जवाफ दिनेछौँ,’ उनले भने, ‘जवाफमा जवाफ मात्र हुने छैन प्रधानमन्त्रीलाई अर्को स्पष्टीकरण प्रश्न पनि सोध्नेछौँ ।’
एमालेले पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदै छ । तर जवाफ भने बिहीबारसम्म सार्वजनिक गर्ने उनीहरूको तयारी छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको गत शनिवारको बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार जना नेतासँग त्यस विषयमा स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
ती पत्रमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको र तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआएमा कारबाही गरिने ब्यहोरा समेत उल्लेख रहेको स्रोतले जनाएको छ ।
तीन दिनअघि एमालेको पार्टी कार्यालयबाट गएका कर्मचारीले ती स्पष्टीकरण पत्र सम्बन्धित नेताहरूका स्वकीय सचिवमार्फत बुझाएका थिए ।
वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलमार्फत नेता नेपाललाई र सुरेन्द्र पाण्डेका स्वकीय सचिव सञ्जीव पाण्डेमार्फत तीव्र पत्र बुझाइएको थियो ।
उता ओलीका कट्टर आलोचक मानिएका अर्का नेता भीम रावलले भने स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेका थिए । उनले सो पत्र बोकेर पुगेका कर्मचारीलाई गेटबाट भित्र छिर्न दिएका थिएनन् ।