नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ ।
बोर्डमा दलका उपनेता, प्रमुख सचेतक, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् ।
मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्नो दलका प्रदेशसभा सदस्यलाई सात दिन समय दिएकाे छ ।
नेकपा एमाले पुर्नस्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएकाे हाे ।
प्रदेशसभामा नेकपा ओली समूहका सभामुखसहित ५१ सदस्य रहेका छन् । आजको बैठकमा ३१ सदस्यको उपस्थिति थियो भने नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । प्रदेशसभा सदस्य भीम आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । पछि केही सदस्यले अविश्वासको प्रस्तावबाट आफ्ना नाम फिर्ता लिएको थियो ।