काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मागको मुद्दालाई फेरि अघि बढाएको छ ।
राप्रपाका तीनजना अध्यक्षले आज सामाजिक सञ्जालमार्फत मुलुकमा राजसंस्था अपरिहार्य भएको बताएका हुन् ।
राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले सामाजिक सञ्जालमार्फत राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दुराष्ट्रको माग बढ्दो भएको उल्लेख गरेका हुन् ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आजै परेको राप्रपा स्थापना दिवसका अवसरमा ८ बुँदे सन्देश दिएका छन्। उनले नेपालको पहिचान हिन्दुराष्ट्र हुनुपर्ने र संविधानभित्रको राजसंस्था कायम हुनुपर्ने तथा राज्यको शक्ति तल्लो राजनीतिक इकाइसम्म हस्तान्तरण हुनुपर्ने एजेन्डामा जोड दिएका छन् ।
त्यसैगरी अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको उल्लेख गरेका छन् । उनले भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको उल्लेख गर्दै राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।