काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेश जारी गरेकी छन् । योसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’, र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।
ती अध्यादेश मन्त्रिपरिषद्को आजकै बैठकबाट पारित गरी राष्ट्रपतिकोमा पठाइएको थियो ।
सरकारले आजै नयाँ बजेट ल्याउँदै छ । अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजे बजेट भाषण गर्ने कार्यक्रम छ ।