कोभिड– १९ यूनिफाइड केन्द्रीय अस्पताल वीरको नयाँ सर्किजल भवनमा कोरोनाको उपचार सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भए लगतै प्राडा. जागेश्वर गौतमले नयाँ भवनमा कोरोना सङ्क्रमितको उपचार सुरु गरेका हुन् ।
अस्पतालका सबै कर्मचारीहरूको सहयोगबाट उपचार गर्न सम्भव भएको गौतमले बताए । ५० बेडबाट उपचार सुरु गरिएको वीरमा बुधबार एक सय बेडमा बिरामीको उपचार गरिने छ । यसै हप्ता अस्पतालको पूर्ण क्षमतामा उपचार गरिने जनाइएको छ । वीरको नयाँ भवन ५०१ बेड क्षमताको छ ।
ट्रमा र पुरानो भवनमा भने नन कोभिडका बिरामीको उपचार हुने गौतमले बताए । अस्पतालमा ३ सय सिलिन्डर अक्सिजन ल्याइएको छ । एक महिनाभित्र अक्सिजन प्लान्ट जडान गर्ने र लिक्विड अक्सिजन प्रशस्तै हुने उनले बताए ।
गौतमले भने ‘सुरुमा वीरमा कोभिड र ननकोभिडको बिरामीको व्यवस्था गर्नेमा मेरो ध्यान केन्द्रित छ । आजदेखि नयाँ भवनमा कोभिडका बिरामीको पनि उपचार सुरु भएको छ । केही दिनमा तपाईंहरूले थप काम भएको देख्नु हुनेछ, मलाई सहयोग गर्नुस्, म काममा निकै उत्साहित छु ।’
उनले वीरमा कोरोना उपचार सुरु भएसँगै कोरोना उपचारमा सहज हुने दाबी गरे । जेठ ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । यो अस्पतालको सञ्चालन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।