काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ । गिटी ढुंगा बेचेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति चौतर्फी आलोचना भइरहेका बेला बुधबार वैद्यले विज्ञप्ति जारी गर्दै सोप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
‘बजेटमा देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताविरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारत तर्फ निकासी र विद्युतीय प्रसारण लाइनमा एमसीसी परियोजना कार्यान्वयनमा जोड दिएर क्रमशः भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थप दलाली गरिएको छ,’ वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस बजेटले एकातिर उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको छ भने अर्कोतिर मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको छ । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ । हाम्रो पार्टी यस प्रकारको राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गर्दछ ।’
यसका अलावा वैद्यले कोरोना परीक्षणको दायरा बढाउन, निःशुल्क एवम् सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन तथा शीघ्रातिशीघ्र खोपको व्यवस्था मिलाउन र विपन्न, गरिब तथा मजदुर वर्गका जनताका लागि राहत, उद्धार तथा बेरोजगार भत्ताको प्याकेज कार्यक्रम ल्याउन माग गरेका छन् ।
सरकारको गिटी ढुंगा निकासी गर्ने विषयलाई लिएर नेकपा माओवादीका अध्यक्ष दाहालले पनि असन्तुष्टि प्रकट गरेका छन् ।