मंसिर ०७, २०८१, शुक्रबार
               

को को परे राप्रपा विशेष र निर्देशन समितिमा ?

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

लामो समयदेखि छलफलमा रहेको राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरिएको छ ।

राप्रपाले आज विज्ञप्ति जारी गरी त्यसको जानकारी दिएको हो । दुवै समिति पार्टी एकता सम्बन्धी आधारपत्रको आधारमा तीन जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठकले गरेको हो ।

दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहने छन् । विशेष समितिमा पार्टीका प्रभावशाली नेताहरू सबैलाई राखिए पनि नेपालगन्ज उपमहानगरका जननिर्वाचित प्रमुखसमेत रहेका धवलसम्सेर राणा त्यसमा परेका छैनन् । नेता राणाले आगामी महाधिवेशनमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरिसकेका छन् । 

ती दुवै समितिको सदस्यमा लोकप्रिय नेता बुद्धिमान तामाङदेखि विघटित प्रतिनिधिसभामा राप्रपाबाट निर्वाचित एकमात्र सदस्य राजेन्द्र लिङदेन, दिपक बोहरा, विक्रम पाण्डे, श्याम तिमल्सिना, जयन्त चन्द र उद्धव पौडेललगायत रहेका छन् ।

दुवै समितिमा तीनै जना अध्यक्षको रूपमा रहेका छन् । समितिले पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्त्वपूर्ण विषयमा पार्टीलाई मार्गनिर्देशन गर्ने राप्रपाले जनाएको छ ।

यी दुई समिति गठनसँगै राप्रपाको सचिवालय कार्य व्यवस्था समिति खारेज गरिएको छ ।

कोरोना महामारीका कारण महाधिवेशन हुन नसक्दा पछिल्लोपटक राप्रपा नेतृत्वतहमा विवाद देखिन थालेको थियो । अध्यक्ष थापाले सहकर्मी दुई अध्यक्षको कार्यशैलीप्रति सामाजिक सञ्जालमै असन्तुष्टि पोखेपछि कार्यकर्तामा आशंका र अन्योल पैदा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि