नेकपा एमालेको विवाद करिब मिलनबिन्दु नजिक पुगेको दोस्रो तहका नेताहरूले दाबी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने सहमति जनाएका नेताहरूको दाबी छ । यद्यपी माओवादी केन्द्रबाट आएका नेताहरूको व्यवस्थापनको विषयमा भने कुरा मिल्न बाँकी रहेको जनाइएको छ ।
पूर्वमाओवादीबाट एमालेमा आएका स्थायी र केन्द्रीय कमिटीमा रहेका सदस्यहरूलाई समावेश गर्ने सर्तसहित २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने ओलीको प्रस्ताव छ । जसलाई नेपाल पक्षले अस्वीकार गरेको छ । नेपाल पक्षले नेकपा माओवादी केन्द्रसँगको एकीकरणभन्दा अघि अर्थात् २०७५ जेठ २ गतेको पार्टी सङ्गठन ब्युँताउनु पर्ने माग गर्दै आएको छ ।
ओली पक्षले रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरूलाई छाड्न नसक्ने बताएपछि थप छलफलका लागि दोस्रो तहका नेताहरू सक्रिय छन् । केही दिनयता केपी ओली पक्षबाट विष्णु पौडेल र माधव नेपाल पक्षबाट घनश्याम भुसाल हरेक दिन जसो वार्तामा छन् ।
ओली र नेपाल पक्षबीचको विवाद मिलाउन सुरुमा कार्यदल गठन गरिएको थियो । तर, त्यसले राम्ररी काम गर्न नसकेपछि दोस्रो पुस्ताका नेताहरूले समूहगत र एक्ला एक्लै छलफल गर्ने गरेका थिए । तर, अहिले भने विवाद समाधानको छलफल दुई नेतामा मात्र सीमित भएको छ ।
सुरुमा दुई तर्फबाट चारचार नेता सम्मिलित कार्यदल गठन गरिएको थियो । जसमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेल थिए । नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका थिए ।
तर, अध्यक्ष ओलीले कार्यदलमा नेपाल पक्षका वार्ता समितिका संयोजक भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेका थिए । रावललाई कारबाही गरेपछि नेपाल पक्षले कार्यदलको औचित्य नभएको निष्कर्ष निकालेको थियो । कार्यदल गठन भएको एक सातामा दुई वटा बैठक भएको थिए । यसपछि दोस्रो तहका नेताहरूबीच सहमतिका लागि छलफल हुँदै आएको थियो ।