काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आजबाट सकिँ दैछ ।
कानून व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए ।
शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ ।
सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रको विषयमा बहस भएको थियो ।
रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको विपक्षले बहस सुरु गर्ने सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।